नवलपुर, ३ वटा दुर्घटनामा परी १ जनाको मृत्यु, १३ जना घाइते


रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरका छुट्टा छुट्टै स्थानमा आज भएको ३ वटा दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती र देवचुलीमा गरी भएको ३ वटा दुर्घटनामा परी १ जनाको मृत्यु भएको हो भने ३ जना घाइते भएका हुन् ।



नवलपुरको कावासोती ६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरकाका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी कावासोती नगरपालिका–१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको हो।

कावासोती–१ हात्तीखोरकी २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पताल र सामान्य घाइते भएका दुई जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पण्डितले जानकारी दिए।

दुर्घटनामा संलग्न अटो चालक कावासोती–१ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

देवचुलीमामा दुई वटा मोटरसाइकल ठक्कर खाँदा ५ जना घाइते


त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगर चोकमा आज दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक साइकलयात्रीसहित ५ जना घाइते भएका छन् ।

पूर्व वीरगञ्जबाट पश्चिमतर्फ आउँदै गरेको ग। प्र। १३ प २२१० नम्बरको मोटरसाइकल र उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको ग। प्र। ०४–००१ प ९९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनाका क्रममा मोटरसाइकल घिस्रिएर सडक छेउमा साइकलसहित उभिएका एक किशोरलाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा परी प्युठानको झिमरुक ३ निवासी २९ बर्षीय वसन्त केसी, सर्लाहीको हरिहरपुर ४ निवासी कृष्णबहादुर महतो,
नवलपुरको दुवेचली ११ निवासी १६ बर्षीय सफल भट्टराई, १५ बर्षीय आयुष गिरी र साइकल यात्री १४ बर्षीय समिर शर्मा रिजाल घाइते भएका छन् ।

कावासोती डण्डामा दुर्घटना, एक जना गम्भीर घाइते

यता नवलपुरको कावासोती १६, डण्डामा स्कारपियोको ठक्करबाट एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

चोरमाराबाट कावासोतीतर्फ जाँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको स्कारपियोले पछाडिबाट अचानक ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक पुरुष व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेको नाम तथा ठेगाना खुल्न सकेको छैन। दुर्घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पतालमा पठाइएको छ।

ठक्कर दिएर फरार रहेको स्कारपियोको खोजी कार्य तीव्रताका साथ भइरहेको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...