अतिक्रमित भूमि सुस्तामा भारतीय सेनाका ३ वटा क्याम्प
- रामकुमार श्रेष्ठ
नवलपरासी। भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि सुस्तामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल एसएसबीका ३ वटा क्याम्प राखेर बसेका छन् । निक्कै लामो समयदेखि यहाँ भारतीय सेना बस्दै आएको भए पनि नेपाल सरकारले भने अहिलेसम्म हटाउन सकेको छैन ।
नारायणी नदी पारी ‘एल’ आकारमा रहेको सुस्तामा भारतीय पक्षले भारतबाट नेपाल आउने ३ वटै नाकामा अतिक्रमण गरेर दशजगा भन्दा ५/७ किलो मिटर वर नेपालतर्फ भारतीय सेनाको क्याम्प राखेको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र कुमार बानियाँ (जैसवाल) ले बताए ।
रविन्द्र कुमार बानियाँ (जैसवाल) का अनुसार नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले रामपुरवा, भेडिहारी र चकदहवामा गरी ३ स्थानमा भारतीय सीमा सुरक्षा बल एसएसबी राखेका छन् ।
सुस्ताबासीले नेपाली क्षेत्रमा भारतीय पक्षले राखेको सेना हटाएर नेपाली भूमि फिर्ता गराउन माग गरेका छन्। सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ सहितको टोलीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाई कालापानी, लिपुलेक, लिम्पुवाधुरासँगै सुस्ताका समस्या एकै पटक हल गर्न सरकारसँग माग गरेका थिए। अहिले कालापानी, लिपुलेक र लिम्पुवाधुराका विषयमा देशभर आवाज उठे पनि सुस्ताको विषयमा भने खासै आवाज उठ्न सकेको छैन ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भारतीय पक्षले १४ हजार ५ सय हेक्टर भूमि अतिक्रमण गरेको छ भने १९ हजार ४ सय ८० हेक्टर नेपाली भूमि विवादित भूमि भनेर जोतभोग गर्न दिएका छैनन् । जुन भूमिलाई नेपाल सरकारले २०३१ सालमा सुस्ताबासीलाई जग्गाधनी लालपूर्जा समेत वितरण गरेको छ ।
सुगौली सन्धी अनुसार सुस्ताको भूमि ४० हजार नौ सय ८० हेक्टर नेपाली भूमि हो । त्यस मध्ये अहिले ७ हजार हेक्टर भूमि मात्र नेपालको अधिनमा रहेको छ ।
२०३१ सालमा नेपाल सरकारले सुस्ताबासीलाई लालपूर्जा प्रदान गरेको ५ सय ५६ विगाहा जमिनलाई भारतीय पक्षले विवादित भनेर नेपालीलाई जोतभोग गर्न दिएको छैन। कालापानी लिपुलेकसँगै मिडियामा सुस्ताका विषय उठ्ने गरे पनि सरकारले भने चासो नदिएको सुस्ताबासीको गुनासो छ ।
नेपाल र भारतीय अधिकारीहरुबीच सुस्ताको अतिक्रमित भूमिका विषयमा स्थानीय स्तरमा पटक पटक छलफल भए पनि निकास भने निस्केको थिएन । भारतीय पक्षले सुस्ताबासीलाई बेलाबेलामा नाकाबन्दी गरिदिने भारतीय बजार जान नदिने, नेपालकै अधिनमा रहेका भूमिमा पनि नयाँ भौतिक संरचना बनाउन नदिने गरेर दुःख दिने गरेका छन् । विवादित भनिएको भूमिमा नेपाल भारत उच्चस्तरीय टोलीबाट निकास ननिस्कंदा सम्म दुवै पक्षले जोतभोग नगर्ने, दुवै पक्षको सेनाले हतियार सहित गस्ती नगर्ने सहमति भएको भए पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले भने पटक पटक हतियार सहित गस्ती गर्ने गरेका छन् ।
सोही क्षेत्रमा नेपाली सशस्त्र प्रहरी भने विना हतियार गस्ती गर्ने गर्दछ । कुनै बेला सुस्ता पञ्चायतको सिंगै गाउँपञ्चायत रहेको सुस्ता २०३४ सालमा बाढी आएपछि यहाँ रहेको बासिन्दाहरु नारायणी नदी वारी त्रिवेणीका विभिन्न क्षेत्रमा विस्थापित भएपछि सुस्ता त्रिवेणी गाविसको एउटा वडामा सीमित भएको थियो भने अहिले सुस्ता गाउँपालिकाको वडा नं. ५ को आधा वडामा सीमित भएको छ। यहाँ अहिले २ सय ७३ घरधुरी मात्र रहेका छन् ति मध्ये १ सय ५० घरधुरीका बासिन्दासँग नेपाली नागरिकताको प्रमाण पत्र छ भने बाँकी १ सय २३ घरधुरीका बासिन्दासँग अझै नेपाली नागरिकताको प्रमाण पत्र छैन।
२०३४ सालको बाढी पछि सरकारले सुस्तामा रहेको नेपाली नागरिकता भएका बासिन्दाहरुलाई अनेत्र सारेर सुस्तामा बसोबास गर्ने तर नेपाली नागरिकता नभएकालाई मात्र सुस्ता छाडेको थियो जसले गर्दा भारतीय पक्षलाई सुस्ता अतिक्रमण गर्न थप सहज भएको हो । सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र कुमार बानियाँ (जैसवाल) भन्छन् जहाँ जहाँ भारतीय सीमा सुरक्षा बल छ त्यही त्यही नेपाली सिमा सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीको क्याम्प राख्यो भने सुस्ता भूमि सुरक्षित हुन्छ ।