अनलाइन कक्षा अर्धसम्भव छ ?
– सौगात वाग्ले –
हुन त म लेख्नलाई यति हतारो गर्ने मान्छे होइन । अँ तयार पनि त छैन! सोचेर, विचारेर भनौ समय लिएर कलम उचाल्ने प्रवृत्तिको व्यक्ति परेँ म । पत्रिकामा नियमित लेखुँ भनेर आँट पनि गर्छु तर हात काम्छन्, मन अस्थिर रहन्छ अनि पछि हट्छु । बेला जो यस्तो छ, जहाँ सिङ्गो पृथ्वि नै टक्क अडिएजस्तो लाग्छ, अनि समय उल्टो घुमेजस्तो । तर विकास सोपान चढिरहँदा प्रविधी अझ बढिरहेछ । र त यो चौकुनाबाट म भँडास पोख्न बाध्य छु नि!
आज ६३ दिन भयो क्यार घर आएको! आउँदिनथेँ त उतै काठमाण्डौका गल्लिभित्र छत्रे टोपी र चस्मामा साथिहरूका कोठा वा त कुनै कार्यालयमा विशेष काम बोकेर भौँतारिइरहेको हुन्थेँ होला । बिहानै क्याम्पस जाउ, छात्रावास आउ, पेट भरेर फेरि उही ठाँटमा रुमलिनु वा त बिस्तारामा ल्यापटप, मोबाइल समाएर कसैका अन्तरवार्ता, समाचार र यस्तै केके केके हेर्नु मेरो दिनचर्या हुन्थ्यो, अहिले सम्झँदा लागिरहेछ यी सब सब सपना हुन्, कथा हुन् । मानौ म त यस्तै चौकुनाको पहरेदारिमा अव्यस्त भइसकेको छु ।
म आज बिक्रमलाई सम्झिरहेछु । को बिक्रम भनेर तपाइँ टाउको कन्याइरहनुभएको होला होइन? उहि क्या! क्याम्पसको ठाडो उर्धिमा अनलाइन कक्षा पढिरहेको बिक्रम, जो मेरो मानस्पटलको कुनै कोठाभित्र चुपचाप कागजमाथि कलम दौडाइरहेछ । सायद बाले गाउँबाट पठाएको पैसो जोगाएर किनेको १३ हजारे फोन बोक्छ क्यार! अनि यहि कागजको तस्बिर लिएर घरबेटिको चोरेको नेटले मास्टरलाई गृहकार्य खिचेर पठाउँछ । भन्थ्यो, चामल राहति खाइरहेछु, साबुन राहति नुहाइरहेछु, दाल पनि त्यस्तै अनि नियमित हुने चिउरा, बिस्कुट भने सम्झनामा ।
हो, आज म लगायत बिक्रम र यहि प्रतिबिम्बहरूका समर्थक र शुभचिन्तकहरूका वास्तविकता र मर्कासँग जुझ्दै छ यो कलम । अक्षरी सफलता र असफलता प्रभावले मूल्याङ्कन गर्ला । यसले नाफाखोरको मगज हल्लिएला, शैक्षिक पात्रो बदलिएला अनि गणितीय समिकरणले हात हल्लाउला भनेर म किन्तु लेखिरहेको छैन । आज महङ्गो इन्टरनेट किन्न नसक्दा अनि बासँग रोइकराइ गरेर जडान गराएको वाइफाइ नचल्दा छुटेको विद्युतीय हाजिर र पढाइको भरपाइ मेरा मथिङ्गलमा झङ्क्रित शब्दहरूले लेस भर पनि पूर्ति गर्न सक्दैनन् । केवल सके भने तपाइँको मनलाई शितलता प्रदान गर्लान कम्तिमा मनको बह यी अक्षरका ताँतिहरूमा कतै न कतै केहि न केहि मात्रामा आइरहेका छन्, बगिरहेका छन् भनेर ।
म दृढताका साथ भन्न सक्छु कि यी सबा तीन सय शब्दहरूमा कुनै अस्लिलता छैनन् र बाचा गर्छु कि कुनै बहकाउ र आवेगमा उत्तेजित हुने छैन । तर मलाई मेरो विवेकले दिएसम्म भने रोश पक्का पोख्ने छु । कम्तिमा मलाई मेरा केहि मित्रहरूले बोलेरै समर्थन गरेका छन्, केहि आदरणियहरूले ढाप मारेका छन् भनु भाइ र बहिनिले विश्वास राखेका छन् ।
म तुरुन्त जवाफ त नपाउँला तर तपाइँ मलाई भनिदिनुहोस् त! यहाँको लकडाउने दैनिकि?
के गर्नुहुन्छ बिहानै उठेर, नुहाउनुहुन्छ, भनु सब नित्यकर्म सकेर चिया पिउनुहुन्छ, विद्युतीय अखवार पढ्नुहोला, अनि भान्सा, खेत, बारि, मोबाइल, टेलिभिजन, पुस्तक, चेस र तासलगायत अरू मनोरञ्जन, ज्ञान, स्नेह र ममताको आदानप्रदान ।
अब मेरो भनु?
बिहान ६.४० देखि सात बजेको बिचमा आमाले बिस्तारामा स्नेह मिश्रित चिया र गिलासभरिको पानिले मेरो स्वागत गरिदिनुहुन्छ, लाग्छ त्यसैको बल र साथले म पीडा पचाइरहेछु । लगत्तै सबा ७ को बिबिसि नेपाली सेवाको बिहानीपख सुनेर मात्र म बिस्तारा छोड्छु । नित्यकर्म सकेर कोठा आइपुग्दा घडिले ८ बजेको सङ्केत गर्छ । अनि सुरु हुन्छ मेरो बेचयन, छटपटि, तनाब र यस्तै यस्तै विशेषणसहितको कष्टप्रद लाग्ने दिनचर्या, मानौ, म कारागारमा छिरेर अपराध मोक्षका निम्ति पहिलो पटक मुखले चम्चा च्यापेर बाल्टि भरिरहेको कैदि हुँ ।
जब जब जब्बरजस्ति औँला उठाएर जिमेल खोल्न खोज्छु, मुटु जोडले धड्किएको जस्तो लाग्छ, हेर्दा कम्तिमा एउटा असाइन्मेन्ट नाम गरेको उडुस मुख उदाएर बसिरहेको हुन्छ । भन्छ कि “यो मिति भित्र मलाई पार लगाइनस् भने यहाँ मेरो भाले प्रजाति पनि आउने छ र हामी दुई मिलेर सन्तान उत्पादनमा सरिक हुनेछौ ।“
सायद यस्ता धम्किले छुन छाडेको छ आजभोलि । त्यसैले खासै पोल्दैन । बरू बेस्सरी चिमोट्छ अनलाइन परिक्षाको उर्धिले, हाजिरको त्रासले । र त दिनकै ५०-६० खर्च गर्छे सर्मीला, हाजिर र असाइन्मेन्टकै निम्ति । यस्तै सोचिरहँदा आमाको अमिलिएको आवाजले भन्छ कि बाबु, पौने हुन २० मिनेट बाँकि छ । अनि त चुपचाप गास टिपि आएर हात पुछ्दा नपुछ्दै यता कलियुगका प्रविधी जान्ने महर्षि म र मजस्तै बबुराहरूलाई अर्ति दिनका निम्ति खडा भएको सङ्केत पाउँछु । तत्पश्चात म पनि जोडिन्छु उहि पिपलमुनि ।
जब जब मेरा गुरु कराउन थाल्नुहुन्छ, उहि रफ्तारमा गुरुले तयार पारेका स्लाइडहरू पनि सर्दै सर्दै जान्छन् । गुरु एकनासले कराउनुहुन्छ, मानौ उहाँ पनि आफ्नो रोजिरोटिमा इमान्दार हुनुहुन्छ । यता ‘जसो जसो बराजु, उसै उसै स्वाहा’ को भानमा हामी पनि त टाउको हल्लाउँछौँ । आखिर अङ्क र सर्टिफिकेटका भोका कर्णधार न पर्यौँ । १०.१५ सम्मको फुटबल सकेपछि हामीलाई हाम्रा रेफरिले पौने घण्टे विश्राम तोकिदिनुभएको छ । जब विद्युतीय पात्रोले अग्रिम सङ्केत दिन्छ, घरमा भात खाइरहेकाहरू पनि बडो चनाखो भएर सेकेन्ड सुइ गन्न थाल्छन् । अनि दर्शक बिनाको ३५ सदस्यिय अभ्यास खेल सुरु हुन्छ ११ बजेबाट ।
मानौँ यति बेला हामि गणित घोक्ने चेश्टा गरिरहेका छौँ । अब यसमा पनि केहि एजम्प्सन्स् राखि हेरौँ है त!
१. कम्तिमा ३ जना विद्यार्थिहरूको १५ मिनेट भित्रमा इन्टरनेट कनेक्टिभिटि टुट्ने छ ।
२. तराईका एकाध जिल्लामा ठूलो हावाहुरि लागेको हुनेछ ।
३. कक्षामा कम्तिमा पनि दुई द्रिष्टिबिहिन विद्यार्थिहरू पढेका हुनेछन् ।
४. गुरु स्वयम् यस कार्यका निम्ति अव्यस्त हुनुहुन्न ।
५. र कक्षाका विद्यार्थिहरू मध्येको एक बिक्रम पनि हो, जो काठमाण्डौको कुनै गल्लिभित्रको एक लासे कोठाभित्र मुखमा कलम च्यापेर अगाडि एक टक कागज हेरिरहेछ ।
म नेपाल एक पहाडी भौगोलिक अवस्थिति भएको विकासोन्मुख मुलुक हो भनेर निबन्ध लेख्न चाहन्न, अपितु वास्तविकता यहि हो मान्यवर ।
एक पटक ती वास्तविक कल्पनाहरूलाई नियालेर हेरौँ त, ती दृष्टिबिहिन विद्यार्थिहरू सुन्ने गणित कसरि बुज्दा हुन्? यो वसन्त र वर्षातले बुज्दो हो कि नाइ, बिजुलिको पोल ढल्ने गरी बतास चल्नुहुन्न भनेर? हो महाराज, अमेरिका र इउरोपले अनलाइन कक्षा चलाउँछन् अनि त्यहाँ त सबै वर्ग र भेगका विद्यार्थिहरू यसै अनुरूप पढ्छन् पनि । बुझिबक्सियोस्, तिनिहरूलाई विकसित मुलुक भनिन्छ ।
जब साढे बाह्र बजे हाम्रो दोस्रो अनलाइन कक्षा सक्किन्छ, म टोलाउँछु, थाक्छु, अतालिन्छु र छटपटिन थाल्छु यस चौकुनाभित्र । बन्दाबन्दिको सुरुवात देखि नै समाचारले दिन कटाउने अनेक उपायहरू सुझाइरहेको छ । तर उक्त सुझाव मेरा निम्ति बालुवाको घर बनिरहेछ । आधा घण्टा आराम गरेँ भनेर लेखुँ भने भोलि मेरा गुरुले यो लेख पढ्ने चेष्टा गरिबक्सिएछ भने आराम त गरेकै रछस् भन्नुहोला, तर भगवान, तपाईँ पो आफ्नो गुजारा चलाउँदै हुनुहुन्छ र यसका निम्ति यो दुःख बेसाउँदै हुनुहुन्छ, तर म र मजस्ता साथिहरू त यसलाई पहिलो पटक भोगिरहेका छौँ नि!
मलाई तोकिएको असाइन्मेन्ट सक्दा घाम अस्ताइसकेको हुन्छ, त्यति बेलासम्म मैले खाजा खाने एउटा विश्राम भने लिन भ्याउँछु । त्यसपश्चातको नोट, नबुजेका कुराहरूको खोजि र रोग, भोकको समाचारले मेरो धैर्यताको सिमा नाघ्छ । अनि दिन भर बारि र भान्सा गरेकी मेरी मातालाई म मेरो भँडास पोख्न थाल्छु । मान्नुहोस्, यो त कक्षा हुँदाको भनु नेट चल्दाको दिनचर्या । कदाचित नेट चलेन भने, मोबाइलमा पैसा छैन भने मनको उडुसले टोक्छ, चिमोट्छ अनि अँध्यारो मुख, गह्रौँ टाउको । यस्तै केके-केके
म मेरो क्याम्पसमा पूर्ण छात्रवृत्तिमा पढिरहेको छु । आधा क्याम्पसले र आधा एक गैरसरकारि संस्थाले तिरिदिएर । तर क्याम्पसमा कति यस्ता साथिहरू पनि छन्, जो आफ्नै कमाइले अध्ययन गरिरहेका छन् । क्याम्पसले भन्यो अरे, ‘यस बैङ्क खातामा पहिलो किस्ता पठाउनुहोला’ । अब यो अनुरोध कति सम्मको न्यायोचित हो भनेर ठम्याउने जिम्मा मैले पाठकलाई नै छाडिदिएँ । आज कैयौँ मुलुक आफ्ना जनतालाई राहात बाँडिरहेछन्, कैयौँ कर्मचारि तलब नलिने घोषणा गरिरहेछन् अनि कैयौँ संस्था दान र सहयोगमा जुटिरहेछन्, तर हाम्रो सरस्वती मन्दीरका पुजारी दक्षीणाका निम्ति माइक लगाइरहनुभएको छ भने म कुन त्यस्ता न्यायाधिशलाई गुहारौँ कि जसले पेटको सट्टा मन्दिर बचाउन हुकुम देओस् ।
यी सब अप्ठ्यारा र चुनौतिका बिच पनि हामी विद्युतीय कक्षाको विपक्षमा भने किन्तु छैनौ । म बरोबर मेरा शुभचिन्तकहरूलाई सुनाइरहन्छु कि मेरो सिर्जना मरिरहेछ, तर यी सब सिर्जनालाई बूढेस्कालको लट्ठि बनाउन मलाई मेरो क्याम्पसले धकेलिरहेछ । सायद, किताबि ज्ञानमा डुबुल्कि मारिरहँदा म समयमा नै ग्र्याजुएट हुनेछु, जबकि मेरा केहि साथिहरू स्नातक पढिरहेका हुनेछन् । म मेरा गुरुहरूको मेहेनेत र लगाबलाई सलाम गर्छु, जसले नजानेरै जानिरहनुभएको छ अनि अचम्म मान्दै, हामीसँग रमिरहनुभएको छ । परन्तु यो मेरो मात्र समस्या होइन गुरुबा, अम्रितदेखि ज्ञान सम्मका समस्त नेपाली छात्र अनि अन्जलीदेखि ज्ञानुमायासम्मका सम्पूर्ण छात्राहरू पनि त्यहि भनिरहेका छन् । कि नेपालमा अनलाइन कक्षा अर्धसम्भव छ ।
सरकारले माध्यामिक शिक्षा परिक्षा एक दिनअघि रोक्यो । सायद विद्यालयकी गहना आस्था बरोबर टोलाउँदि हो अनि किताबमा घोत्लिएर आफ्नै संसारमा जाँदि हो । हाल आएर फेरि अन्योलका बिच परिक्षा गर्ने र नगर्ने भनि विद्वानहरू आफ्नै जुहारिमा मस्त हुनुहुन्छ ।
एकै छिन ती कलिला मुनाहरूका बारेमा सोच्नुहोस् त, तिनिहरू के गरिरहेका होलान्? मेरै भाइजस्तो एकान्त बासबाट प्रसारण भइरहेको समाचार सुन्दा हुन् वा बाको मोबाइलमा मोटु-पत्लु हेर्दा हुन् । जेजे गरिरहेका भए पनि ती कोपिलाहरूको समय फलदायी बनोस् मेरो कामना ।
हामी जान्दछौँ, महामारि बाजा बजाएर आउँदैन । यद्यपी यहि महामारिको आडमा यति धेरै अदूरदर्शि पनि त बन्नुभएन । भोलि काठमाण्डौको हर्केले पडाइ सक्दा जुम्लाको सन्तमान पढ्दै रह्यो भने, सङ्गै कक्षामा बस्ने हाम्रा साथिहरूले बुजेँ भनेर टाउको हल्लाउँदा म र मजस्तै दृष्टिबिहिन विद्यार्थि अलमलियौँ भने यो मुलुकले केहि न केहि त क्षति बेहोर्नुपर्ला, कम्तिमा म पनि त दक्ष जनशक्ति बनुला नि मान्यवर!
अन्त्यमा, यी सब समस्याहरूका बाबजुद पनि यस परिस्थितिमा विद्युतीय माध्यमको शिक्षाको अर्को विकल्प छैन । खालि प्रश्न भनेको यसको प्रभावकारिता र पहुँचमा मात्र हो । हामी तपाइँजस्तै पठनपाठनलाई अगाडि बढाउन सकारात्मक छौ, परन्तु कक्षालाई अन्तरकृयात्मक बनाउँ, असाइन्मेन्टहरू कागजमा मात्रै होइन मान्यवर, व्यवहारमा पनि पढ्न सकिने दिनुहोस् । गणित अभ्यासयुक्त भओस्, जसबाट सम्पूर्ण वर्ग लाभाम्बित हुन सकोस्, तर त्यसका निम्ति विद्यार्थि मात्र होइन, गुरुहरूले अज बढि मेहेनेत गर्नुपर्छ, तालिम लिनुपर्छ, कारण सिङ्गो विश्व नै अडिएको छ भगवान, हामीले छिटै ग्र्याजुएट गर्न हतारिनु पर्दैन, कम्तिमा सुस्त हिँड्ने हाम्रा साथिहरूलाई हात दिन सक्यौँ भने उनिहरूले पनि सिक्नेछन् ।
हो, अब हाम्रो परिक्षण कक्षा सहभागीता, गृहकार्य अनि क्षमतामा आधारित रही मूल्याङ्कन गरिने छ, त्यसको मतलब त कहिल्यै कक्षा आउन नसक्ने हरीहर र चन्द्रकला पनि त पढ्न सक्छन् नि! खोइ भगवान उनिहरूका निम्ति पहुँच? तपाइँ उनिहरूलाई आफ्नै स्थानीय समाज, संस्कृति, वातावरण, विज्ञान र वित्त बुज्ने होमवर्क पठाउनुहोस्! सम्भव छ भने त्यहाँका स्थानीय रेडियो र टेलिभिजनहरूसँग समन्वय गर्नुहोस् र सामग्री उपलब्ध गराउनुहोस् । ज्ञान त म गुगल अनि युटुबबाट जति पनि थोपर्न सक्छु गुरु, तर कसैको अनुभव, चिन्तन र व्यवहार बुज्न भने यस्तो मौका घरिघरि आउँदैन ।
त्यसैले, मानवतालाई माथि राखेर समतासँग हात मिलाइदिनुहोस् सर, किन भने नि! शिक्षा त सर्वाङ्गिण हुनुपर्छ, जहाँ अल्पमतको पनि कदर गरिन्छ । आखिर तपाइँ त ब्रह्मा, विष्णु, महेश्वर न पर्नुभयो!
