बढ्दो आत्महत्या : चिन्ताको विषय


 

 

 

 

 



–डा. धनपति कोइराला
[email protected]
वर्तमान जति फराकिलो बन्दै छ उति नै आत्महत्या गर्नेको ग्राफ उकालो चढ्दो देखिँदै छ । शताब्दियौँअघिदेखि नै यसले मानव मथिङ्गललाई नराम्ररी गिजोल्दै आएको छ । भौतिक अभाव आदि इत्यादिका कारणले मृत्युवरण गर्ने विषय आप्mनो ठाउँमा छ । तर, बाहिरबाट हेर्दा जो जीवनमा सफल बनेको छ, जो सम्पन्न पनि छ, जो मृदुभाषी छ, जो लोकप्रिय पनि छ र अरुका निम्ति अनुकरणीय पनि देखिन्छ । जो परिवारको जिम्मेवार सदस्य पनि हो र उसैमा समग्र परिवार आश्रित हुन्छ, त्यस्ता मानिसहरुले नै इच्छामरण रोज्नु नै सबैका निम्ति झन् धेरै चिन्ता र चासोको विषय बनाइदिएको छ ।

नेपालमा एक जना न्यायाधीशले इच्छामरण रोजे र जाँदाजाँदै यो गैरकानुनी नभई कानुनसम्मत बन्नुपर्छ भन्ने तर्क गर्दै चिर्कटो छोडेर गए । अखबारहरुले छापे पनि यो कुरा । त्यसो त, नेपालमा लकडाउनपछिमात्रै पनि झन्डै एघार सयले इच्छामरण रोजेको तथ्याङ्क सार्वजनिक भयो । तथ्याङ्क भन्छ, ‘इच्छामृत्यु रोज्नेमा बालकदेखि वृद्ध उमेर समूहसम्मकै व्यक्तिहरु रहने गरेका छन् ।’ इच्छामरण रोज्नेहरुको विश्वतथ्याङ्कलाई हेर्दा पनि नेपाल सातौँ मुलुकमा पर्ने गरेको छ । त्यसो त, खुसीपूर्वक जिउने नेपालीहरुको तथ्याङ्कमा पनि नेपाली माथिल्लै कोटिमा पर्छन् । तर पनि यहाँ किन यस्तो ? सामन्ती सामाजिक, सांस्कृतिक तथा अर्थव्यवस्थाकै उपज हो त यो ?




हुन त, भारतमा पनि आत्महत्याको दर त्यति कम छैन । हालै भारतीय सानो पर्दा हुँदै ठूलो पर्दामा समेत उच्च हैसियत बनाइसकेका सुशान्त सिंह राजपूतले समेत इच्छामरण रोजेको सञ्चारमाध्यममा आइरहेको छ । यो पनि एउटा वर्तमानलाई झस्काउने प्रकृतिको इच्छामरणका रुपमा हेरिएको छ । हुन त, उनको इच्छामृत्युबाटै प्रभावित भएर अरु दुई जनाले त्यही बाटो रोजेको अखबारमा पनि आएको छ । यदाकदा आप्mनो आदर्श व्यक्तिले समेत आप्mनो जीवनलाई अर्थहीन सम्झेर इच्छामरण रोजेको सन्दर्भमा उनका शुभेच्छुकहरुले पनि उनले त आप्mनो जीवनको मूल्य निस्सार र निरर्थक देखे भने हामी जाबोको जीवनको त के अर्थ भन्दै त्यस्तै बाटो रोज्नेहरुको लहर चल्ने गरेको देखिन्छ ।

दोस्रो विश्वयुद्धमा लाखौँ निर्दोष र युद्धसँग असम्बन्धित मानिसहरु मारिएपछि र नित्सेले ईश्वरको विघटन भएको घोषणा गरेपछि जीवनप्रतिको मोह अन्त्य भएको र उद्देश्यहीन जीवन जिउनुको कुनै अर्थ नरहेको भन्दै पच्छिमा देशहरुका हजारौँले यही मार्ग रोजे । तत्कालीन धर्मगुरू सारेन किर्केगार्डले जीवन र जगत्को अर्थबोध गराए । यसपछि बल्ल यो इच्छामरण रोज्ने क्रममा कमी आएको ठानिन्छ ।

जीवन इच्छा, आकाङ्क्षा र सपनाहरुको एउटा समष्टि पनि भएकाले बाल्यावस्थादेखि कैशोर्यकालीन जीवन जिउँदै जाने क्रममा साँचेका र चाहेका सपनाहरु विपरीततातिर मोडिन पुग्न थालेपछि मानिसमा एकखाले विसङ्गतिबोधको सृजना हुन पुग्ने मनोविद्हरुको धारणा छ ।
त्यसो त, अध्यात्म दर्शनले पूर्वजन्मको प्रभाव वासनात्मकरुपमा यस जुनीमा पनि पर्ने भएकाले मान्छे एउटै बाबुआमा, घरपरिवार र समाजजस्ता समान परिवेशमा हुर्के बढेका मान्छे पनि अलग–अलग सोच, चिन्तन र व्यवहारका हुन्छन् । समान खानपान, वात्सल्यदेखि संस्कार, संस्कृतिमा हुर्केका एउटै बाबुका सन्तानमा भिन्नता देखिनुले यो तथ्य सत्य हो कि भन्ने आभास हुन्छ ।

हुन पनि एउटा छोरो पढन्ता, अर्को छोरो कुनै सीप आदि इत्यादिमा अभिरूचि राख्ने, एउटा रिसाहा र गरम अनि अर्को शान्त र नरम, एउटा अन्तरमुखी र अर्को बहिर्मुखी स्वभावको देखिन्छ । त्यही एउटा सानातिना घटनाहरुबाट अतिशय द्रवित र भावुक भइहाल्ने र अर्को त्यस्ता ससाना घटना त के ठूला घटनाहरु देख्दा र स्वयं नै पर्दा पनि प्रभावित नै नहुने पनि हुन्छन् । एउटा कोमल मनको र अर्को कठोर मनको हुनु आश्चर्य लाग्दो लाग्छ । यस्तो पृथक् स्वभाव र चरित्र वंशाणुगत गुण, आहारविहार, घरेलु वातावरण, साथीसँगीहरुको सरसंगत समान हुँदाहुँदै पनि यस्तो पृथक् स्वभाव र चरित्र देखिनुले अध्यात्म दर्शनले निर्देश गरेको वासनात्मक संस्कारकै उपज हो भन्नेतर्फ घोत्लिन बाध्य पार्छ पनि ।

अघि भनिएझैँ कोमल मनोवृत्ति भएका मानिसहरु ससाना परिघटनाबाट धेरै प्रभावित हुन्छन् नै । अर्को अकस्मात् आवेशमा आउने मानिसहरुमा पनि अनपेक्षित परिणाम दिने प्रवृत्ति हुन्छ । यस्ता मानिसहरु अरुलाई सिध्याउन र आफैँ इच्छामरण रोजिहाल्न अग्रसर हुने गरेको केही अध्ययनले देखाएको पनि छ । हुन त, इच्छा र सपनाहरु जब विघटित हुन्छन् तब अनपेक्षित परिणाम देखा पर्ने गरेका छन् ।
त्यस्तो असफलता प्रेमजन्य हुन सक्छ । परीक्षाको नतिजाजन्य पनि हुन सक्छ । वात्सल्य प्रेमजन्य पनि हुन सक्छ ।

अपमान र तिरस्कारजन्य पनि हुन सक्छ । आपूmले विगतमा पर्दापछि गरेका दुष्कर्महरु बाहिर प्रकाशमा आउने भयबाट प्रभावित भएर पनि हुन सक्छ । कतिपय त्यस्ता दुष्कर्म प्रकाशमा आइसकेपछि चौतर्फी आलोचना पैदा भएर समाजमा अनुहार नै देखाउन नसकिने वातावरण पैदा भएपछि पनि यस्तो इच्छामरण रोज्नैपर्ने परिस्थितिजन्य पनि हुन सक्छ । ऋणले थिचिएर उठ्नै नसक्ने गरी थिल्थिलो भएपछि पनि हुन सक्छ । यदाकदा भौतिक अभावले पिल्स्याएपछि आपूm र आप्mना सन्ततिलाई समेत सँगै लिएर गरिने सामूहिक इच्छामरण पनि हुन सक्छ । क्षणिक आवेशमा आएर रोजिने इच्छामरणमा प्रायः बालबालिकाहरु देखिने गरेका छन् ।

मोबाइल नदिएको झोंकमा, बढी लाडप्यार गरेर हुर्काएका बच्चालाई आमाबाबुले नै एक–दुई झापड लगाएको झोंकमा, विद्यालयमा शिक्षकले पिटेको झोंकमा पनि यस्ता घटना घटिरहेछन् अहिले । यदाकदा आपूmले साथी बनाउन खोजेको साथीले वास्तै नगरिदिँदा पनि बालकले यो मार्ग रोजेको अखबारमा नआएको होइन ।

प्रायः मानिसले इच्छामृत्यु रोज्नुको मूलकारणमध्ये डिप्रेसन मुख्य रहेको अध्ययनले देखाएको छ । इच्छामरण रोजेकाहरुको तथ्याङ्क हेर्दा ८० प्रतिशत डिप्रेसन नै कारण बनेको देखिएको छ । त्यसो त, मान्छेमा डिप्रेसन विविध कारणले पैदा हुने गर्छ, तापनि यसबाट ज्यादा अन्तर्मुखी स्वभावकै मानिसहरु प्रभावित हुने गरेको पाइन्छ । आप्mना पीडा, बेचैनी, तनाव र असन्तुष्टिहरु कसैलाई नसुनाउने मान्छेहरु हठात् यस्तो निर्णयमा पुग्ने गरेको पाइएको छ ।

जसले आप्mना समस्याहरु अरुसमक्ष खुलारुपमा राख्छ र समाधानका उपायहरुबारे अरुसँग उपाय खोज्छ, त्यस्ता मानिसले कहीँ न कहीँ कतै न कतै आशा लाग्दो पिल्पिले उज्यालो पनि भेट्छ र जीवनको अस्तित्व र सार अनुभूत गर्छ । तर, जो आप्mना समस्या अरुलाई के सुनाउनु ? सुनाएर के जग हँसाउनु ? सुनाएरै पो के हुन्छ र ? भन्ने निष्कर्षमा गइरहेका हुन्छन्, उनीहरु क्रमशः आपूmलाई तिलाञ्जलि लिने गन्तव्यमा पुगिरहेका हुन्छन् ।

अर्को कुरा, जसले विसङ्गतिवादी दर्शनमा आधारित ग्रन्थहरुभित्र सँगसँगै अस्तित्ववादी चेतना पनि प्रतिध्वनित भइरहेको पाउँछ, त्यस्ता ग्रन्थहरुमा अभिव्यञ्जित अस्तित्वगत चेतनातिर ध्यान नै नदिई सोझो अर्थमा मुखरित विसङ्गतिगत चेतनालाई मात्र बढी मह¤व दिएर पढिरहेका हुन्छन् । त्यस्ता पाठकहरुमा पनि विसङ्गतिवादी चेतना बढी नै मुखर भएर आइरहेको हुन्छ । कतिपय इच्छामरणका पछि त्यस्ता जीवनको निस्सारता, निरूद्देश्यता, निरर्थकता बोध गराउने ग्रन्थहरु पनि इच्छामरण रोज्नुका कारण बन्छन् । तर, यस्ता इच्छामरण रोज्ने पात्रहरु प्रायः सम्भ्रान्त र बौद्धिक पात्र हुने गरेको देखिन्छ ।

फ्रायडका अनुसार पनि मान्छेमा जीवनमुखी र मृत्युन्मुखी गरी दुई प्रवृत्ति हुने गर्दछ । जीवनमुखी प्रवृत्ति भएको मान्छे सदा कठिनभन्दा कठिन परिस्थितिमा पनि भोलिको आशा जीवितै राखेर बाँचिरहेको हुन्छ । आज छैन त भोलि हुन्छ । आज अपमान र घृणा छ त भोलि रचनात्मक कार्य गरेर सम्मान प्राप्त गरिछाड्ने आशा उसमा जीवित रहेकै हुन्छ ।

चाहे सानामा या ठूलै भइसकेपछि पनि चोरी, झैझगडा, व्यभिचार, भ्रष्टाचार आदि इत्यादि मामिलामा नै फसेको किन नहोस् । बोक्सीको बात लागेको होस् वा अरु नै अपराधको बात किन नलागोस्, त्यो घाउलाई पुरेर नयाँ चर्म पलाउने आशामा जिइरहेकै हुन्छ । भौतिक अभावदेखि ऋण आदि इत्यादि रहे पनि उसले कहीँ न कहीँ आपूmलाई उभ्याउने चेष्टा गरिरहेकै हुन्छ, तर कदाचित इच्छामरणको दुःस्वप्न देख्दैन ।

तर, जो मृत्युन्मुखी मनोवृत्ति बोकेको पात्र हुन्छ ऊ सधैँ सर्वत्र अन्धकार मात्र देखिरहेको हुन्छ । उसमा दिव्य प्रकृतिदेखि मानवीय स्रोतहरु समेत उसका निम्ति काम लाग्दा लागिरहेका हुँदैनन् । उसले तिनबाट आप्mना भावना र मर्महरुको सम्बोधन हुने नै देख्दैन । जीवनलाई उसले बिनाअर्थ जन्मिएको र बिनाअर्थ बाँचिरहेको अनुभूति गरिरहेको हुन्छ । जीवनलाई अर्थहीन र आफैँलाई भार भइरहेको बोध गर्ने मान्छेले सधैँ आपूmलाई तनावमा पाउँछ । हो, यहाँ बुभ्mनुपर्ने कुरा के पनि छ भने यस्तो विसङ्गति चेतना अभाव, भेदभाव, अपमान, घृणा आदि इत्यादिबाट पैदा भइरहेका हुन्छन् । त्यसलाई कुनै एउटा अलिक ठूलो परिघटनाले जब बढी संवेदित तुल्याउँछ तब उसभित्रको चेतना चरमोत्कर्षमा पुग्दछ र अप्रत्याशितरुपमा इच्छामरण गर्ने निर्णयमा पुग्दछ मान्छे ।

यसर्थ, यस्ता अन्तर्मुखी र विसङ्गतिचेत् बोकेका मान्छेलाई सदा मनोपरामर्श र पारिवारिक प्रेम, हार्दिक सहानुभूति, हार्दिकताका पूर्ण व्यवहारका साथै पारिवारिकरुपमा सँगै बस्ने व्यवस्था गर्नु उपयुक्त हुन सक्छ । उसलाई जुन कुराले बढी भित्र मुटुमै शूल रोप्छ, त्यस्ता बोली र व्यवहार प्रस्तुत गर्नु पनि एकखाले अपराध नै हो । जसले उसको तरल मनलाई झन् संवेदित बनाइछाड्छ । कायर, लाछी, हुतिहारा, बेकामे आदि इत्यादि जस्ता घृणित वाणी र व्यवहार पनि कसैका निम्ति शूलसरह हुन्छन् ।

भन्न र प्रेरित गर्ने कुरा आप्mनो ठाउँमा छ । तर, सकारात्मकभन्दा नकारात्मक कोणबाट गरिने उत्प्रेरणा लाभदायीभन्दा घातक नै ज्यादा हुने गर्छ । अझ अन्तर्मुखी स्वभाव भएका निम्ति त यो मन्दविष दिएसरह नै हो । यसर्थ, उत्प्रेरित गर्नुपर्दा पनि सकारात्मक हिसाबले गर्नु नै ज्यादा पेचिलो र प्रभावकारी हुन सक्छ । गर्न खोजेर पनि सफल भइनरहेको स्थिति र गर्दै नगरेर नहुनेलाई गरिने उत्प्रेरणाको बोली, भाषा र लवजमा पनि अभिभावक, इष्टमित्रहरुले ध्यान पु¥याउनु उपयुक्त हुन सक्छ ।

कोमल मन भएका अन्तर्मुखी स्वभावका मान्छेहरुलाई घोचपेच गरेर भन्ने, असहिष्णु व्यवहार गर्ने, भेदभाव र उसका इच्छाहरुमाथि नखेल्ने हुनुपर्छ । सामान्यतया मानिस यस्तो निर्णयमा त्यसै पुग्दैनन्, असह्य भएर नै पुग्ने हो । यसर्थ, हरेकले त्यस्तो इच्छामरणको निर्णय लिन नमिल्ने वातावरण बनाउने दिशामा सदा अग्रसर हुनुपर्छ ।

-साभार चितवन पोष्टबाट



सम्बन्धित
Loading...