रुपन्देहीमा एकैदिन थपिए ४१९ जना संक्रमित, १६ गतेदेखि निषेधाज्ञा




बुटवल-रुपन्देहीमा एकैदिन ४१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार बेलुका सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या बढेर १ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा थपिएका ४१९मध्ये सबैभन्दा धेरै बुटवलका छन्।




पछिल्लो २४ घण्टामा बुटवलका २१३ जना, तिलोत्तमाका १०८, सिद्धार्थनगरका ४३ जना, सैनामैनाका १६ जना, देवदहका १४ जना, सुद्धोधनका ७ जना, समरीमाइका ५ जना, कञ्चनका ४ जना, ओमसतियाका २, रोहिणी, लुम्बिनी, कोटहीमाई, मायादेवी, गैडहवाका १-१ जना थपिएका छन्।

रुपन्देहीमा १६ गतेदेखि निषेधाज्ञा लगाउन सिफारिश 

रुपन्देहीमा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिश गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिश गर्ने निर्णय भएको हो।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए। यसको औपचारिक निर्णय भने बुधबार हुनेछ। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव

पन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको छ । दैनिक आवश्यकताभन्दा ३० वटा अक्सिजन सिलिण्डर कम आपूर्ती भइरहेकाले अस्पतालले सञ्चालन गरेको कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररतः संक्रमितहरुको उपचारमा असहज स्थिती आएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल स्टोर इन्चार्ज रुपलाल पन्थीका अनुसार अस्पतालमा ‘अक्सिजन व्यवस्थापन गर्न गाह्रो हुँदा एकदमै क्रिटिकल समस्यामा पुगिएको छ ।’

उनका अनुसार अस्पतालको दैनिक आवश्यकता अहिले प्रतिदिन एक सय ५० सिलिण्डर हो तर एक सय २० सिलिण्डर अक्सिजन मात्रै आपूर्ती भइरहेको छ । आवश्यकता अनुसार अक्सिजन नहुँदा कोरोना संक्रमणको गम्भीर लक्षणसहित आइसीयू/एचडियूमा उपचार गराइरहेका १३ जना र भेन्टिलेटरमा राखिएका दुई जनाको उपचारमा समस्या देखिएको छ ।

संक्रामक रोग विशेषज्ञले कोरोना भाइरसले फोक्सोमा क्षती पुर्‍याई रगतमा अक्सिजन प्रवाह घटाउने भएकाले लक्षण देखिएका बिरामीहरुलाई अक्सिजन आपूर्ती गर्न सकेमा मात्रै पनि मृत्युदर निकै कम गर्न सकिने बताइरहेका छन् ।

प्रादेशिक अस्पतालमा एक महिनाअघिसम्म २५ सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको अक्सिजन जेनेरेशन प्लान्ट(अक्सिजन उत्पादन गर्ने मेसिन)ले काम गर्न छाडेपछि समस्या झन् टड्कारो बनेको हो ।

प्लान्टको कम्प्रेशर वालमा चुहावट भएर कम शुद्धता भएको अक्सिजन उत्पादन हुन थालेपछि प्लान्ट बन्द गरिएको छ ।
रोटरी क्लब अफ बुटवलको सहयोगमा काठमाडौंको मेडिअक्सी प्रालिले जडान गरिदिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएपछि कम्पनीले पुनः निर्माणका लागि ध्यान नदिएको अस्पतालको आरोप छ ।

मेडिकल स्टोर इन्चार्ज पन्थीले भने–‘सप्लायर्स(मेडिअक्सी)ले ‘केअरलेस’ गरिरहेकाले यस्तो भएको हो । हामी उनीहरुसँग सम्पर्कमा नै छौं । आउने शुक्रबार आएर बनाइदिने भनिरहेका छन् ।’

यसो त प्लान्टले फेरि अक्सिजन ‘जेनेरेशन’ गर्न सुरु गरेपनि अभाव भने परिपूर्ती हुन तत्काल अझै दैनिक पाँच सिलिन्डरको आवश्यक पर्नेछ । हाललाई अस्पताललाई नेपालगञ्जको एचओ अक्सिजन कम्पनीले तरल अक्सिजनका सिलिन्डरहरु आपूर्ती गरिरहेको छ । कम्पनीले अस्पतालले माग गरेजति अक्सिजन सप्लाई गर्न नसक्ने बताइसकेको छ ।



सम्बन्धित
Loading...