पानीपुरी बेचेर बुटवलमा दुई तले घर
ठेलामा पानीपुरीको व्यापार । त्यो व्यापारको आम्दानीले बुटवल गोलपार्कमा दुई तले घर ।
सुन्दा झट्ट विश्वास लाग्दैन् । तर, गुल्मी धुर्कोटका प्रेम भण्डारीको पौरखलाई हेर्दा विश्वास नगरी सुखै छैन् ।
प्रेमले आठ वर्ष भयो, पानीपुरीको व्यापार गर्न थालेको । व्यापारका लागि उनले रोजेका छन्, गोलपार्कस्थित दुर्गामन्दिर लाइन । यही ठेला राखेर उनले पानीपुरीको व्यापार गर्दै आएका छन् ।
दुर्गामन्दिर लाइनमा आठ वर्षयताका धेरै घाम–पानी खाएर उनले गोलपार्कस्थित बीपीपथमा दुईतले घर जोडेको विषय रोचक छ ।
बिहानदेखि अपरान्ह ३ बजेसम्म पानीपुरी र चाटका लागि आवश्यक सामग्री बनाउन उनी खट्छन् ।
घरमै आवश्यक सामग्री तयार गरेपछि उनी ठेला धकेलेर दुर्गामन्दिर लाइन पुग्छन् ।
त्यसपछि उनको ठेलामा सुरु हुन्छ, पानीपुरीका पारखीको भीड । प्रेमको यो व्यापारमा साथ दिएकी छिन्, श्रीमती मोतिकुमारी भण्डारीले ।
श्रीमतीकै आडभरोसाले उनले व्यापारमा रम्न पाएका छन् ।
‘एक्लै भएको भए त कसरी व्यापार सम्हाल्न सक्नु ।
श्रीमान–श्रीमतीसँगै मिलेर अघि बढेकाले काम गर्न सजिलो भएको छ ।’ –उनले भने ।
व्यापारमा रम्दा प्रेमलाई बाहिर हिंड्डुल र भेटघाट गर्ने समय छैन् ।
ग्राहकको भीडले उनलाई सबै बिर्साइदिन्छ । उनले पानीपुरी र चाट बेचेर दुई वर्ष अघिसम्म महिनाको एक लाख रुपैयाँ कमाए । अहिले व्यापार घटेको छ ।
कोरोना महामारीपछि जेनतेन खर्च चलाउन सकेको प्रेमको भनाई छ ।
पानीपुरी बेचेर महिनाको लाख कमाएको र गोलपार्कमा घर किनेको कुरा जति आकर्षक छ, उनको जीवनमा संघर्षका अनेक कथा छन् ।
प्रेम अहिले ५० वर्ष पुगे । कक्षा ९ सम्म मात्रै पढ्न सके । उनी चाहन्थे, राम्रो पढ्ने । उच्च शिक्षा अध्ययन गरी राम्रो जागिर वा पेशा व्यवसायमा लाग्ने ।
तर उनको यो सपना पूरा हुन सकेन् । उनले चाहेर पनि पढ्न नपाउनुको कारण हो, घरको कमजोर आर्थिक अवस्था । घरको जर्जर आर्थिक अवस्थाकै कारण पढाई छाडेर उनी लागे रोजगारीको लागि भारततिर । कलिलो उमेरमै भारतमा घरेलु कामदार भए ।
त्यसपछि होटलमा भाँडा माँझे । जति नै दुःख गरे पनि उनले जीवनमा परिर्वतन देख्न सकेनन् । आर्थिक अवस्थामा सुधार आउन सकेन् ।
भारतको आसाम गएको १० वर्षपछि उनले २०५३ सालमा विहे गरे । होटलको सानोतिनो कमाईले छाक टार्न धौं–धांै हुन थाल्यो ।
त्यसपछि उनले सानो लगानीमा खाजानास्ताको रेष्टुरेण्ट खोले । लगानी धेरै थिएन । सानो लगानीको सानै थियो व्यापार । यही व्यापारले आफ्नै काम भए अलि दाम कमाउन सकिन्छ भन्ने हिम्मत उनमा पलायो । परिवार पाल्न सहज भयो ।
केही पैसा पनि बच्यो । छोराछोरी हुर्कदै गएपछि उनी स्वदेश फर्कने निधो गरे । यतै केही गर्न सकिन्छ कि भन्ने उनलाई लाग्यो । त्यसपछि उनी बुटवल आएर ठेलामा पानीपुरी बेच्न थालेका हुन् । २०६७ सालमा भारतबाट नेपाल फर्केका प्रेमले ठूलै होटल चलाउने योजना पनि बनाए ।
तर लगानीको समस्या भयो । यहाँ लगानी धेरै भएमात्रै होटल खोल्न सकिने बुझेपछि उनी पछि हटे । थोरै लगानीको सानो व्यापार के हुनसक्छ ? सोधखोज गरे ।
बुटवलमा पानीपुरा र चाटको व्यापार राम्रै हुने उनले देखे । त्यसपछि उनले थाले गोलपार्कमा पानीपुरी बेच्न । यही पानीपुरीको व्यापारले गोलपार्कमा घर मात्रै किनाएन, छोराछोरीको पढाईका लागि पैसा पनि जुटाइदिएको छ । उनका तीन छोराछोरी छन् ।
जेठा छोराले बिएस्सी सिएसआइटी चौथो सेमेष्टरमा पढ्छन् । अर्को कक्षा ९ मा पढ्दैछन् । छोरीले स्नातक उत्तीर्ण गरेपछि विहे गरिन ।
पहिले धेरैले बुटवलको सडकमा पानीपुरी बेचेर बसेको भनेर गाउँघरमा कुरा काटेको उनले सुने । भारतमा मजदुरी गर्दा धेरै दुःख पाएका प्रेमलाई श्रम गर्न कुनै हिनताबोध थिएन् ।
धेरैका धेरै थरी कुरा सुने । तर काम खुरूखुरू गरे । ‘अरूले के भन्छन् भनेर ख्याल गरिन्, मिहिनेत गरें । त्यसैले छोराछोरी पढाउन सकें । गोलपार्कमा घर बनाउन सकें ।’–उनले भने ।
अब उनले पानीपुरी र चाट मात्रै नभएर अरू परिकार पनि थप्ने योजनामा छन् । जीवन बदल्न सहयोग गरेको ठेला पूरानो भएकोले यसलाई बदल्दैछन् । पहिले कुरा काट्नेहरू अहिले प्रशंसा गर्न थालेका छन् । विदेशमा गएर दुःख पाउनुभन्दा स्वदेशमै सानोतिनो व्यापार गरेर जीविका चलाउनु धेरै राम्रो उनलाई लागेको छ । ‘सानो तिनो व्यापारका लागि सीप छैन् भने इन्टरनेटको माध्यमबाट सिक्न सकिन्छ । प्रविधिले निकै सजिलो बनाइदिएको छ ।’–उनले भने ।
स्वदेशमा अवसर भएन् भनेर निराश हुनेहरूलाई उनको सुझाव छ–अवसर आफैं खोज्दै आउँदैन्, आफैंले श्रृजना गर्ने हो । समाज र समयअनुसार अवसर श्रृजना गर्ने आफैले हो । ‘कुरा ठूलो गर्ने होइन्, सानो कुरा गरौं । काम सानोबाट सुरु गरौं, श्रमप्रति सम्मान गरौं, विदेश जान पर्दैन । स्वदेशमै धेरै गर्न सकिन्छ ।’–उनले भने ।