ठूलो दललाइ भोट दिनु साँढेको दुध धुनु जस्तैः लिङ्देन

हरि शर्मा –
परासी,१४ चैत ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनलाई ठूला दलहरुको सिण्डिकेटविरुद्ध प्रयोग गर्नुपर्ने बताएका छन् ।
पार्टीको नवलपरासी जिल्ला समितिद्धारा सोमबार परासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ३ ठूला दलको हातबाट राजनीति बाहिर नगएसम्म देशले निकास नपाउने दाबी गरे ।
अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न समय खर्चेका लिङ्देनले २०४६ सालदेखि सिमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताए ।
‘ राजाको पालमा र अहिले के फरक भयो ? ३१ वर्षदेखि राजनीतिक दलले सधैं जनतालाई झुक्काएर राखेका छन् । नेतालाई गाली पनि गर्ने अनि भोट पनि दिने यसले गर्दा परिवर्तन हुन सकेको छैन । ’ उनले भने ।
एक छाक बन्दोबस्त गरेको भरमा र केही दिनको आवश्यकता पूरा गरेको भरमा मत दिने सोँचलाई परिवर्तन गर्नुपर्ने उनले बताए । ‘३ दललाई भोट दिनु भनेको साढेको टाङमुनी बसेर दुध थाप्नु जस्तै हो । यिनीहरुबाट केही आशा नगरे हुन्छ ।’ उनले भने ।
जिल्ला अध्यक्ष ओमबहादुर सिंहको अध्यक्षतामा भएको आमसभामा पार्टीका उपाध्यक्ष धु्रव बहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयलगायतका नेताले सम्बोधन गरेका थिए ।