हावाहुरीले एउटै गाउँमा २५ घर भत्कियो

शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ ।
थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ । सोही हावाहुरीमा परेर एक जना घाइते भएका छन् । घाइते भएकी ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली लगिएको स्थानिय संतोष सोडारीले बताए ।
हावा हुन्डरी संगैको वर्षाले स्थानियको घरमा भएको धान मकै कोदो गहुँ लगायत अन्न बाली सबै भिजेको छ । केहि अन्न पानीले भिजेका कारण कामै नलाग्ने भएको छ ।
हुरिले ३ वटा पसलको छाना उडाउदा पसलमा रहेको समान भिजेर नष्ट भएको दिलिप बुढाथोकी बताउँछन् । ‘दुखसुख गरेर जोरजाम गरेको पैसाले सानो व्यवसाय सुरु गरेका थियौ, त्यो पनि दैवले देखि सहेन । अब फेरि कसरि सुरु गर्नु यो व्यवसाय ?’ बुढाथोकीले भने ।
हुरिका कारण ४ सय बर्ष भन्दा पुराना रुखहरु समेत उखलिएको छ । गाउँमा रहेका धेरै रुख बिरुवाहरुको हागाँ भाँचिएर घर थिचेको छ भने सडक समेत अवरुद्ध बनेको छ ।
आफुले थाहा भए देखि यस्तो हावाहुरि नआएको ९१ वर्षीय जयलक्ष्मी श्रेष्ठ बताउँछिन । ‘राती उडाएर लैजाला जस्तो लागेको थियो धन्न मरिएन बाँचियो ।’ जयलक्ष्मीले भनिन् ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतल्े नगरपालिकाले क्षतिको विवरण संकलन सुरु गरेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय, र सशस्त्र प्रहरी बल रामेछापको टोलीले उद्दार गर्नको साथै घर घरमा गएर घट्नाको बिबरण संकलन गरिरहेको प्रहरी नायब उपरिक्षक राजकुमार थिङले बताए ।
रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठको नेतृत्वमा गएको रेडक्रसको टिमले पिडितको घर घरमा गएर त्रिपाल बाँडेको छ । हाललाई छानो नहुने परिवारका लागि केहि राहत पुगोस् भनेर तत्काल त्रीपाल दिएको श्रेष्ठ बताउँछन् ।