बुटवल उपमहानगर : वडा सदस्यलाई बनाइयो उपमेयरको उम्मेदवार, कुन उम्मेदवार कस्ता ?


 




स्थानीय तहको निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिका मेयरका लागि ५ र उपमेयरका लागि ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका लागि नेकपा एमालेबाट बाबुराम भट्टराई, सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे, राप्रपाबाट मृगेन्द्र शेरचन, जसपा नेपालबाट सुरज घिताड मगर र नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासीले उम्मेदवारी दिएका हुन् ।

 

यस्तै, उपमेयरमा एमालेबाट सावित्रा अर्याल, सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ, जसपा नेपालबाट सम्झना पौडेल र राप्रपाबाट भगवती पाण्डेले उम्मेदवारी दिएका छन् ।

 


एमालेबाट मेयरको उम्मेदवार बनेका बाबुराम भट्टराई राजनीतिक रुपमा भन्दा पनि व्यावसायिक रुपमा बढी परिचित छन् । धेरैले उनलाई बुटवलमा औषधि व्यवसायीका रुपमा चिन्छन् । औषधि उद्योगी र अस्पतालमा लगानीकर्ता समेत रहेका भट्टराई नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्षसमेत हुन् ।

 

त्यसो त उनले पार्टी राजनीतिमा पनि भूमिका निर्वाह गर्दै आएका छन् । उनले एमालेको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे । आफू २०३२ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको बताउने भट्टराईले २०६२÷६३ सालको जनआन्दोलनमा आकस्मिक राहत कोषका संयोजक भएर बुटवलमा काम गरेका थिए ।

 

एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा रहेकै अवस्थामा उनले पार्टीका तर्फबाट बुटवल उपमहानगरको मेयरमा उम्मेदवारी पाएका हुन् ।

 

सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका काँग्रेस नेता खेलराज पाण्डे २०७४ सालको निर्वाचनमा पनि मेयरमा उम्मेदवार बनेका थिए । तीन पटकसम्म काँग्रेसको बुटवल नगर सभापति बनेका पाण्डेले २०३९ सालदेखि राजनीतिक जीवन सुरु गरेका थिए ।

 

पाण्डे २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको उपसभापति भएका थिए भने तरुण दलको विभिन्न पदमा बसेरसमेत काम गरे ।

 

राप्रपाको तर्फबाट बुटवलको मेयरमा उम्मेदवारी दिएका मृगेन्द्र शेरचन बुटवलवासीका लागि परिचित नाम हो । उनी बुटवलमै जन्मिएका हुन् भने बुटवललाई नै कर्मथलो बनाएका छन् । विद्यार्थी जीवनमै स्काउट सचिव भएर काम गर्दै समाज सेवामा सक्रिय उनी काठमाडौंस्थित पब्लिक युथ कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत बनेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि उनी बुटवलको मेयरमा उठेका थिए ।

 

जसपा नेपालबाट मेयरमा उमेदवार दिएका सुरज घिताड मगर बुटवल वडा नम्बर ८ निवासी हुन् । विद्यार्थी राजनीतिबाट आएका मगर अहिले जसपाको बुटवल नगर सदस्य र पार्टीको भ्रातृ संगठन युवा समाजवादी बुटवलका नगर अध्यक्ष हुन् । देशको विकासका लागि युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने मान्यताका साथ आफू राजनीतिमा अगाडि बढेको उनको भनाइ छ ।

 

यस्तै नेपाल मजदुर किसान पार्टीबाट मेयरमा उम्मेदवारी दिएका हरिसुन्दर बासीले जन्मथलो भक्तपुर हो । पार्टीले संगठन बनाउन खटाएपछि उनी २०५८ सालमा बुटवल आएका हुन । बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्दै उनले पार्टीको संगठन विस्तारको काम सुरु गरेका थिए । पार्टीको जिल्ला नेतृत्व सम्हालिसकेका उनी यसअघि पनि बुटवलको मेयरमा उम्मेदवार बनेका थिए ।

 

यी हुन् उपमेयरका चार उम्मेदवार

 

नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सावित्रा अर्याल महिला अधिकारको क्षेत्रमा क्रियाशील नाम हो । अधिकारकर्मीका रुपमा विभिन्न संघ संस्थामा काम गरे पनि अर्याल पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

 

सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका चीनबहादुर गुरुङ नेकपा एकीकृत समाजवादीका स्थानीय नेता हुन् । यातायात मजदुरको नेताबाट राजनीतिमा उदाएका उनी २०४० देखि बुटवलमा बसेर काम गर्दै आएका छन् । सरल स्वभावका गुरुङ २०५५ सालदेखि एमालेमा सक्रिय थिए । उनी २०६२/६३ को जनआन्दोलनमा घाइतेसमेत भएका थिए ।

 

हाल एकीकृत समाजवादी पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा बुटवल–३ मा वडा सदस्यमा निर्वाचित भएका थिए ।

 

यस्तै जसपा नेपालबाट उपमेयरमा उम्मेदवार बनेकी सम्झना पौडेल बुटवल–११ देवीनगरकी स्थायी बासिन्दा हुन् । उनी जसपा नेपालको नगर समिति सदस्य पनि हुन् । उनले समाजसेवामा पनि आफूलाई सक्रिय गराउँदै आएकी छन् ।

 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुखमा उम्मेदवार बनेकी २५ वर्षीय भगवती पाण्डे राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् । उनी नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष पनि हुन् । १६ वर्षको उमेरमा एसएलसी दिएसँगै राजनीतिमा सक्रिय भएको बताउने उनी एक सफल उद्यमी पनि हुन् ।

 



सम्बन्धित
Loading...