स्थापितभन्दा बालेन २०२२ मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।
आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन्।
बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०२२ मत धेरै ल्याएका छन्।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०१८ मत पाएकी छन्।
काठमाडौं महानगरपालिका- १ मा एमालेले वडाध्यक्ष र एक सदस्य पद जितेको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर १ बाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन्।
उनीसँगै सदस्यमा ७५९ मत ल्याएर सदस्य उम्मेदवार रसला तण्डुकार विजयी भएकी छन्।
वडाध्यक्ष विजयी भए पनि एमालेकै मेयर उम्मेदवार केशव स्थापितले भने यहाँ उनको भन्दा आधा मत मात्र पाएका छन्।
एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन्। तर यो वडाबाट एमालेकै मेयर उम्मेदवार स्थापितले भने आधा मत पाएका छन्। यहाँ उनको मत ३ सय ६५ आएको छ।
वडा नम्बर एक नक्साल, नारायणहिटी, नागपोखरी क्षेत्रमा पर्छ। यो वडामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ ल्याएर दोस्रो नम्बरमा आएका छन्।
कांग्रेसकै मेयर उम्मेदवार सिर्जना सिंहले भने यहाँबाट ५ सय ५१ मत पाएकी छन्।
यो वडाबाट मेयर उम्मेदवारमध्ये सबभन्दा बढी भोट पाउने बालेन शाह हुन्। उनले ७ सय ८३ मत पाएका छन्। यहाँबाट स्वतन्त्र मेयर उम्मेदवार सुमन सायमीले २०१ मत पाएका छन् भने राप्रपाका मेयर उम्मेदवार
मदनदास श्रेष्ठले सय भोट ल्याएका छन्।
यो वडामा ३ हजार ७ सय ४० मतदाता भए पनि खसेको मत भने २ हजार ७९ थियो।