रुपन्देहीका होटलमा जघन्य अपराधका घटना





गत साउन २८ गते शनिबार बुटवलको गोलपार्कस्थित पाल्पाली होटलमा एकजना युवती मृत अवस्थामा फेला परिन् ।

अघिल्लो दिनदेखि एक युवकसँगै होटलमा बास बसेकी बुटवल उपमहानगर वडा नं. २ की १६ वर्षीया सुदीक्षा गुरुङ अर्को दिन झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।


उनीसँगै होटलमा बसेका युवक त्यतिबेला भाग्न सफल भए । तर मृतकका आफन्तको जाहेरीको आधारमा बुटवल उपमहानगर ३ का २० वर्षीय असीम श्रेष्ठ पक्राउ परे । उनीमाथि प्रहरीले मुद्दा चलाएको छ । उमेर नै नपुगेकी युवतीलाई किन होटलवालाले कोठा दिए भन्ने अर्को प्रश्न पनि उठेको छ । कोठा बुक गर्दा ती युवती एक्लै आएर बुक गरेकी थिइन् ।

उक्त घटना घटेको दुई दिनपछि साउन ३० गते सोमबार बुटवलको स्याङ्जा कारिकोटे होटलमा एकजोडी महिला पुरुष मृत अवस्थामा भेटिए । धादिङ घर भएका ३५ वर्षका सीताराम भुजेल र दाङ घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी मृत अवस्थामा फेला परे ।

यो घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । महिला ओच्छ्यानमा रगताम्य अवस्थामा फेला परेकी थिइन् भने पुरुष पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानबाट पुरुषले महिलाको हत्या गरेर आफू आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यी दुई ताजा घटनाहरू हुन् । पुरानो र नयाँ बसपार्क क्षेत्रका होटलमा यस्ता घटना विगतमा धेरै घटेका छन् ।

किन घट्छन् यस्ता घटना ? रोक्नलाई के गर्ने ?

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार परिस्थितिजन्य डिप्रेसन तथा आपराधिक मनोवृत्तिका मानिसबाटै यस्ता घटना घट्ने गरेका छन् । मानिसलाई सहज र गोप्य कामका लागि पनि होटलहरु उपयुक्त हुन्छन् । होटलमा बसेर विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्ने अपराधीहरू पनि भेटिन्छन् ।

यस्तोमा होटल सञ्चालकको चलाखी पनि आवश्यक रहेको प्रहरी बताउँछ । बुटवलमा भएको स्याङ्जा कारिकोटे होटेलको घटनामा होटलवालाले महिलासँगै बसेको पुरुषलाई एक्लै बाहिरिन रोकेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन् । रेग्मीले भने, ‘त्यो पुरुष एक्लै निस्केर भाग्न खोज्दा होटलवालाले एक्लै जान रोकेपछि फर्किएर गई कोठामै आत्महत्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।’

होटल व्यवसायी महासंघका संस्थापक केन्द्रीय अध्यक्ष माधव नेपालले पनि होटलमा हुने गतिविधिबारे होटल सञ्चालक बढी चनाखो हुनुपर्ने बताउँछन् । कोठा दिनुअघि इन्ट्री गराउने, फोन नम्बर लिने, असली परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्रको प्रतिलिपि लिने, समय समयमा त्यो कोठाको जानकारी लिने जस्ता काम गरेमा पनि होटलमा आउने आपराधिक प्रवृत्तिका मानिसहरूलाई निरुत्साहित पार्न सकिने नेपाल बताउँछन् । यदि घटना घटेमा पनि अपराधीलाई पत्ता लगाउन सकिने गरी ग्राहकको जानकारी लिनुपर्ने उनी बताउँछन् । उमेर नै नपुगेका युवायुवतीलाई र पुरा परिचय दिन नसक्ने ग्राहकलाई होटलवालाले कोठा दिन नहुने पनि प्रहरीको भनाई छ ।

स्वीमिङ पुलमा डुबेर मृत्यु

रुपन्देहीका ठूला मानिने होटल तथा रिसोर्टमा पनि विभिन्न कारणले मानिसहरूले ज्यान गुमाएका छन् । होटलमा बनाइएका स्वीमिङ पुलमा समेत मान्छेको ज्यान जाने गरेको छ । रुपन्देही प्रहरीका अनुसार करिब दुई महिना अघि भैरहवाको होटल पौवामा दुईजना मानिसको ज्यान गएको थियो ।

करिब एक महिनाको फरकमा दुई जनाको ज्यान गएपछि होटलमा स्वीमिङ पुलका मापदण्डबारे पनि प्रश्न उठ्यो र केही समय प्रहरी प्रशासनले उक्त स्वीमिङ पुलमा पौडी खेल्न रोक पनि लगाएको थियो । भैरहवाको घटना भन्दा केहीअघि रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पनि पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको थियो । यो रिसोर्टमा अघिल्लो वर्ष पनि एकजना बालकको पौडी खेल्ने क्रममा मृत्यु भएको स्थानीयले बताउँछन् ।



सम्बन्धित
Loading...