नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार मोटरसाइकल चोरीमा सम्लग्न ५ जनालाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको छ ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १६ केरावारी बस्ने २४ बर्षीय मदन थापा, १८ बर्षीय प्रविन सुनार, १९ बर्षीय रोहन क्षेत्री, २१ बर्षीय सुसिल कुमाल र २२ बर्षीय सोनु सुनार पक्राउ परेका हुन् ।
उनीहरु बा १९ प ८४९१ नम्बर र बा २४ प १७५८ नम्बरको माटेरासइकल चोरीको घटनामा संम्लग्न रहेको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका २ को छायाँ खाजा घर अगाडि पार्किङ्ग गरी राखेका बा १९ प ८४९१ नम्बरको निलो रङको स्प्लेण्डर मोटरसाइकल पुस १६ गते हराएको भनि परेको निवेदनको आधारमा खोजतलास गर्दा ५ जना पक्राउ परेका हुन् ।
उक्त वाइक पुस १७ गते बर्दघाट नगरपालिका १० मा नम्बर प्लेट हटाइ चलाएको अवस्थामा रोकी सोधपुछ गर्दा चोरी भएको मोटरसाइकल खुल्न आएको र थप खोजतलास गर्दा कागजपत्र नभएको चोरीको अर्को बा २४ प १७५८ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरी नायव उपरीक्षक रमेश बोहोराले बताए ।