सिंहदरबार र नेताको घरको फोहोर नउठाउने मेयर बालेन शाहको घोषणा

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् ।
आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै आक्रोश पोखेका छन् ।
उनले चालकलाई रिहा नगरे सिंहदरबारसहित सबै पार्टी कार्यालयको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन् । उनले नेताहरूको घरको समेत फोहोर नउठाउने बताएका छन् ।
काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि फोहोर बोकेका सवारीसाधनहरू रोकिएका हुन् ।