आज बुद्ध जयन्ती, बुद्धको जन्मस्थल लुम्बिनी लगायत देश भर विविध कार्यक्रम गरी मनाइदै




शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।




‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ ।

बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए ।

विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताए । बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हिजो साँझ देखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ ।

आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए ।



सम्बन्धित
Loading...