१ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली आशंका




गतवर्षको असार पहिलो साता । कालिकाकोट गाउँपालिका–५, स्याङ्जाका शशांक बस्याल आफ्नै ४ पांग्रे सवारी चलाएर घर जाँदै थिए । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित वनवाटिका क्षेत्रमा उनको सवारीले ठक्कर दिँदा ६४ वर्षीय पैदलयात्री कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भयो ।

त्यसबेला उनीसँग दुईपांग्रे सवारीको मात्रै चालक अनुमतिपत्र (लाइसेन्स) थियो । बस्याल तत्काल पक्राउ परे । लाइसेन्स नभएका व्यक्तिले चलाएको सवारीसाधनद्वारा कसैको मृत्यु भएमा निजलाई २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । उक्त सजाय हुन सक्ने देखेपछि बस्यालका आफन्तले नक्कली लाइसेन्स बनाउने गिरोहको खोजी थाले । गिरोहलाई रकम दिएर बनाएको नक्कली लाइसेन्सकै आधारमा भवितव्यवश बस्यालको सवारी ठक्करले भट्टराईको ज्यान गएको फर्जी प्रमाण बनाई रूपन्देही अदालतबाट उनी धरौटीमा छुटे ।




फर्जी लाइसेन्स पेस गरेर छुटेको शंका लागेपछि उक्त विषयमा पुनः अनुसन्धान हुँदा नक्कली लाइसेन्स बनाउन यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डे, दाङमा कार्यरत कम्प्युटर अपरेटर अक्रामुद्दिन मुसलमान, यातायात व्यवस्था कार्यालय बुटवलका पूर्वकम्प्युटर अपरेटर लक्ष्मण पाण्डे, तत्कालीन यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र हरिश भट्ट संलग्न रहेको फेला पर्‍यो । बस्यालका नाममा नक्कली लाइसेन्स बनाउन कपिलवस्तुको महुवा–१ का शिवपुजन मल्लाहको लाइसेन्स किर्ते गरेको फेला पर्‍यो ।

कतिसम्म भने, मल्लाहको लाइसेन्स नम्बरलाई यथावत् राखेर बस्यालका नाममा विवरण भरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुल्यो । त्यही गिरोहमध्येका एक, सवारीचालक अनुमतिपत्र छपाइ शाखाका प्रमुख इन्जिनियर हरिश भट्टले नक्कली लाइसेन्स छापेर बस्यालका आफन्तलाई दिएका थिए । बिचौलिया लक्ष्मण पाण्डेको योजनाअनुसार विभागका तत्कालीन कम्प्युटर इन्जिनियर अर्यालले नक्कली लाइसेन्स बनाउन ‘एआईआई’ नाम गरेको नक्कली ‘युजर आईडी’ बनाएको भेटियो । त्यसपछि युजरको पासवर्ड बिचौलिया पाण्डेलाई दिए । पाण्डे बुटवलका यातायात कार्यालयका पूर्वकम्प्युटर अपरेटर हुन् । पाण्डेले उक्त पासवर्ड यातायात व्यवस्था कार्यालय दाङका कम्प्युटर अपरेटर अक्रामुिद्दनलाई दिए । उनले मल्लाहको नाम र थर परिवर्तन गरे । जन्ममिति र फोटो परिवर्तन गर्ने काम भने यातायात व्यवस्था कार्यालय बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेले गरे ।

यो सबैलाई मिलाउने तारतम्य कम्प्युटर इन्जिनियर पाण्डेले गरे । सीआईबीले यसको अनुसन्धान थालेपछि बस्याल र उनका बुबा थानेश्वर हाल फरार छन् । वैदेशिक रोजगार तथा अध्ययनमा जाने र अत्यावश्यक अवस्थामा मात्र सवारीचालक अनुमतिपत्र विभागबाट छपाइ गरिन्छ । यही मौकामा भट्टले बिचौलियाको योजनामा नक्कली लाइसेन्स बनाएर बिक्री गरी ज्यान मुद्दाका अभियुक्तलाई उम्काएको तथ्य पुष्टि भएको हो । सीआईबीले यो प्रकरणमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेस गरेकामा अर्याल, नारायणप्रसाद पाण्डे र हरिश भट्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

रिहाइ आदेश भएका भट्टसहित सुनार, मिलन बाँस्तोला, बिर्जुकुमार चौधरी, वसन्त पाण्डे, गणेश भण्डारी र दीपा न्यौपानेविरुद्ध शुक्रबार किर्तेमै छुट्टै मुद्दा दायर भएको छ । यी दुवै मुद्दाका प्रतिवादीले कसरी सरकारी छाप तथा दस्तखत किर्ते गरी नक्कली लाइसेन्स बनाउने गरेका थिए भन्ने तथ्य उजागर भएको छ । धरौटीमा छाड्न आदेश भएकामध्येका भट्टसहित शुक्रबार मुद्दा दायर भएका सबै हाल सीआईबीको नियन्त्रणमा छन् ।

बस्यालको नाममा यातायात व्यवस्था विभागबाट नक्कली लाइसेन्स जारी हुँदा महानिर्देशक नारायणप्रसाद भट्टराई थिए । उनी हाल गृह मन्त्रालयको प्रवक्ता छन् । यो प्रकरण यत्तिकैमा टुंगिँदैन । बिचौलियाको सेटिङमा वैदेशिक रोजगारीमा जानेलाई समेत यातायातकै कर्मचारीको मिलेमतोमा नक्कली लाइसेन्स दिलाइने गरेको तथ्य पनि खुलेको छ ।

त्यसैगरी, गतवर्षको मंसिर २० मा बेलबहादुर देवकोटा बिचौलियामार्फत लाइसेन्स बनाउन विभाग जान्छन् । विदेश जानुपर्ने भएकाले भिसा देखाएर लाइसेन्स प्रिन्ट गरिदिन आग्रह गर्छन् । त्यसक्रममा उनको लाइसेन्स नक्कली भएको कर्मचारीले सुइँको पाउँछन् । त्यसपछि उनी विभागका महानिर्देशक उद्धव रिजालको कार्यकक्षमा पुग्छन् । ती युवाले दलालमार्फत लाइसेन्स बनाउन रकम दिएको विषय महानिर्देशकसम्म पुग्छ । लाइसेन्स नपाएपछि देवकोटालाई ‘कहिले लिखित र ट्रायल दिनुभयो भनेर उनले सोध्छन् । महानिर्देशक रिजालले भने, ‘परीक्षा दिइनँ, फाराम भर्दा पनि पालो नआउने देखेर छिटो लाइसेन्स पाइने आशामा ७० हजार बुझाएँ, अहिले प्रिन्ट गर्न आएको हुँ भन्ने जवाफ आयो ।’ लिखित र ट्रायल नदिई कसरी लाइसेन्स बन्छ त भनी प्रतिप्रश्न गर्दा देवकोटाले ‘धेरैले यसरी लिएका छन्, मैले पनि त्यही गरेको हुँ’ भन्ने जवाफ दिएका थिए । पछि उनलाई विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, नयाँ बानेश्वरको जिम्मा लगाइदियो ।

गिरोहका कसैले देवकोटालाई अर्कै व्यक्तिका नाममा जारी लाइसेन्स नम्बर दिएको पत्ता लाग्यो । तर देवकोटा भने आफू गिरोहको चंगुलमा परेको पत्तै पाएका थिएनन् । गिरोहलाई पैसा दिएर लाइसेन्स बनाइएका घटना एकपछि अर्को फेला पर्न थालेपछि अनुसन्धान गर्दा पक्राउ परेका व्यक्तिले नै विभाग र मातहत यातायात कार्यालयका कर्मचारीबाटै नक्कली लाइसेन्स बन्ने गरेको खुलाएका थिए ।



सम्बन्धित
Loading...