तराईमा तातो हावाको लहर चल्ने चेतावनी

मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको छ ।
पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो ।
विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् । पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। बिहीबार मात्र टीकापुरमा ४५.२ डिग्री सेल्सियस मापन भएको थियो।
पश्चिम तराईसँगै उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ। शुक्रबार पनि नेपालगन्जमा ४३, धनगढीमा ४२.५, दिपायलमा ४१.२, सुर्खेतमा ४०.४, घोराहीमा ३८.६ र भैरहवामा ३६.८ डिग्री सेल्सियस मापन भएको छ।