दुम्किबासमा खानेपानीको हाहाकार कहिले सम्म ?





दीपक सुवेदी –

मानव जीवनका लागि पानी अपरिहार्य तत्त्व हो। मानिसको दैनिक व्यवहारका अनेकौं काममा पानी आवश्यक पर्छ। यसको विकल्प छैन। पानी मानव जीवनको लागि नभई नहुने आवश्यकता आवश्यकता मध्यको एक हो। बिहान उठेदेखि राति नसुतुन्जेल उपयोग हुने पानी विनाको जीवन अकल्पनीय छ।


नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भए तापनि राज्य पुनरसंरचना पश्चात् नेपालकै कान्छो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयी त्रिवेणी गाउँपालिकामा भने स्थानीयहरूले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्।

२०७४ फागुन ४ मा बसेको पहिलो गण्डकी प्रदेश मन्त्रीपरिषदको बैठकले दुई वर्षभित्र सबैको घरघरमा स्वच्छ पिउनेपानी पुर्‍याउने निर्णय गर्यो। कतै ‘भातैभात कतै पुरपुरोमा हात’ भनेझैँ ९५ प्रतिशत नागरिकले आधारभूत खानेपानी प्रयोग गर्न सफल भएको दाबी गरिरहेको गण्डकी प्रदेशमा विनयी त्रिवेणी गाउँपालिकामा भने अझसम्म खानेपानीको समस्याको समाधानका लागि कुनै पहल हुन सकेको छैन।

विनयी खोला र ज्यामिरे खोलाको बीचमा अवस्थित दुम्कीबास बजारमा पानीको हाहाकार हुँदा स्थानीयबासीहरूले सास्ती भोग्नु परेको छ। दुम्कीबास क्षेत्रमा खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत खानेपानी योजना अघि बढाउन आवश्यक रहेको छ। दुम्कीबास खानेपानी १ जोगीकुटी, दुन्चे खोला, दुम्कीबास खानेपानी १ र २ ज्यामिरे गरी सञ्चालित तीनवटा खानेपानीलाई मर्ज गरी एकीकृत रुपमा अघि बढ्न सके थप व्यवस्थित रूपमा योजनाहरू सञ्चालन गर्न सहज हुने भए तापनि राजनैतिक भागबण्डाको कारण नै अझसम्म कार्यान्वयन हुन सकिरहेको छैन। दुन्चे खोलाको पानीमा चुनको मात्रा धेरै भएकाले पाइप जाम भइरहने समस्या रहेको र उक्त पानीले स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुरामा दुई मत छैन।

गुणस्तरीय खानेपानीको पहुँचमा आमनागरिकलाई पुर्‍याउन अपरिहार्य रहेको छ।
पालिका भित्रका अधिकांश टाँडी क्षेत्रमा विनयी खोलाबाट लिफ्टिङको माध्यमबाट पानी तानेर वितरण गर्न सकिने भए तापनि यहाँका बासिन्दाको आफ्नो पुरै जीवन पानी बोक्नमा सीमित भएको पाइन्छ । घरमा पानीको धारो आउला र रहर मेटौला भन्ने रहर, रहर नै भएर बसको छ ।

एक गाग्री पानीको लागि एक घण्टा समय खर्चिनुपर्ने बाध्यता अझै छ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्या समाधान हुने आश गरेको भएपनि समस्या समाधान हुन नसक्दा कतिपयमा निराशा पनि छाएको देखिन्छ। उम्मेदवार हुँदा खाएको खोलाको पानी प्रतिनिधि बनेर मिनिरल वाटर खान पाउँदा समस्याको समाधानमा ध्यान नपुगेको पनि हुन सक्छ।

परम्परागत इनार कुवा पोखरी मासेर ट्युबवेलमा भर परेका अधिकांश स्थानीयबासीहरू सुख्खायाममा पानी नआउने र बर्षातमा धमिलो पानी आउने गरेकाले जीवन थप कष्टकर बन्दै गइरहेको छ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एकमात्र विकल्प प्राकृतिक पुनःभरण भए तापनि नदीजन्य पदार्थको उत्खननमा वर्षेनि भूमिगत पानीको सतह घटिरहेको छ।

बर्षायाममा आकाशको पानीमा निर्भर मानिस सुख्खायाममा पानीको हाहाकारले सास्ती खेप्नुपर्ने बाध्यतामा छन्। खानेपानी समस्याका कारण बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन्। सुख्खायाममा यहाँका चपाकालहरू सुख्ने गरेका छन् भने खानेपानी संस्थानले सबै ठाउँमा पानी समेत पुर्‍याउन नसकिरहेको अवस्थामा पालिकामै निकट भविष्यमै खानेपानीको गम्भीर समस्या उत्पन्न हुने देखिन्छ ।

प्राथमिकता र स्रोतको सुनिश्चितता निर्धारण हुन नसक्दा निर्णय एकातिर र प्राथमिकता अर्कातिर हुँदा कार्यक्रमहरू असफल हुने गरेका छन्। पानीको समस्याको लागि विश्वव्यापी चिन्तन भइरहेको युगमा नेताहरूको विकास प्राथमिकतामा शुद्ध पिउने पानी नपर्नुले आश्चर्यको विषय छ ।

यसका लागि तत्कालीन र दीर्घकालीन गरी दुईवटा उपाय हुन्छन्। तर सधैँ दीर्घकालीन सपना बाँडेर तत्कालीन समस्याबाट पन्छिने प्रवृत्ति हावी छ। सम्बन्धित निकायको ध्यानाकर्षण होस्।



सम्बन्धित
Loading...