६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस





काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशुलीमा खसेको दुईवटा बसको ६ दिनसम्म अत्तोपत्तो छैन ।

२८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशुलीमा खसालेको थियो ।


जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरको विवरण र सम्पर्कमा आएका आफन्तले भने अनुसार एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना रहेको उल्लेख गरेको छ ।

जसमध्ये गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए । दुर्घटनापछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।

भेटिएका शवहरु तिनै बसका यात्रु भएको पुष्टि भएको अवस्थामा पनि ४५ यात्रु र दुबै बसको अवस्था भने अज्ञात छ । बस खसेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

सुरुका दिनमा सुरक्षाकर्मीहरुले मोटरबोटमार्फत खोजी गरेका थिए । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले खोजी गरिएको थियो । हुक र चुम्बकको सहायताले पनि खोजी गरियो ।

पानी धमिलो र अत्याधिक बहाब भएकाले गोताखोर टोलीहरु पानीमुनि जान नसकेको उद्दारमा संलग्न सुरक्षा निकायहरुले बताएका छन् ।

त्यसपछि सोनार क्यामेरा तथा वाटर ड्रोनको सहायताले पनि खोजी गरियो । यही प्रविधिबाट खोजी जारी छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा घटनास्थल पुगेर अवलोकन गरिसकेका छन् ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हालेपछिको पहिलो निर्णय नै सिमलताल बस दुर्घटना अध्ययनका लागि सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले बुधबार घटनास्थल पुगेर अवलोकन गरेको छ ।

तर अहिलेसम्म नदीले किनारमा उतारेका शव बटुलेर सनाखत गर्दै आफन्तको जिम्मा लगाउनुबाहेक यो दुर्घटनामा अन्य प्रगति हुन सकेको छैन । निरन्तर एक हप्तासम्म खोजीमा खटिँदा गोताखोरसमेत शिथिल हुने अवस्था भएको उद्दारमा खटिएकाहरु बताउँछन् ।

किन पत्ता लागेन बस ?

सशस्त्र प्रहरी बलको खोजी तथा उद्दार विषयमा जानकार डीएसपी लक्ष्मण बस्नेत बस पत्ता नलाग्नुको प्रमुख तीन कारण छन् रहेको बताउँछन् ।

पहिलो, पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा सोनारले दिएको संकेत अपरेटरले बुझ्न नसक्नु । दोस्रो, बस बगाएर हाल खोजी गरिएको क्षेत्र भन्दा अन्यत्र पुर्‍याउनु । तेस्रो, कुनै ठूलो चट्टान वा विशाल ढुंगा तथा खोँचमा बस च्यापिएकाले त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुग्नु ।

उनका अनुसार यस्तो किसिमको खोजीमा विशेषगरी क्यानिङ सर्भिलेन्स सोनार सिस्टम प्रयोग गरिन्छ । यो सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन् । तर अहिले त्रिशुलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको उनको बुझाइ छ ।

अहिले त्रिशुलीमा प्रयोग भएको क्यामेराले ३०० मिटर गहिराइसम्म काम गर्ने भनिए पनि त्रिशुलीको अहिलेको पानीका कारण २/३ फिट गहिराइसम्म पनि काम गर्न सकेको छैन । पानीमुनि प्रकाश पनि पुग्दैन । त्यही कारण अन्डर वाटर ड्रोन र क्यामेराहरु प्रभावकारी नभएको नभएको उद्दारकर्ताहरुको भनाइ छ ।

विपद व्यवस्थापन तथा उद्दार मामिलाका जानकार नेपाल प्रहरीका पूर्वएआईजी ठूले राई पनि त्रिशुलीमा पानीको उच्च बहाबका कारण उद्दारकहरु भित्रसम्म जान नसक्नु र गए पनि स्थिर भएर काम गर्न नसक्दा बस फेला पार्न कठिन भएको हुन सक्ने बताउँछन् । ‘हुकिङ गरेर पानीमुनिको वस्तु तान्ने तथा पहिचान गर्ने पनि हुन्छ । तर त्यो पनि हाइ करेन्ट र धमिलो पानीका कारण समस्या भएको देखिन्छ’, राईले भने ।

धेरै देशमा यस्ता नदीहरुमा गरिने खोज तथा उद्दारको शैली नेपालको जस्तै हो । यो अवस्थामा उद्दारका लागि प्रयोग गरिने प्रविधिलाई राडर सिस्टम भनिन्छ ।

त्यही राडर सिस्टमभित्र, वाटर ड्रोनदेखि हुकिङ, सोनार क्यामेरा, चुम्बक विधि पर्छन् । राडार डिभाइसहरु पानीभित्र छाडेर त्यसले पानीभित्रको वस्तु क्याप्चर गर्ने र बाहिर डिस्प्ले गर्ने गर्छ । तर उच्च बहाब र पानी धमिलो भएका कारण सोचेजसरी काम हुन सकेको छैन ।

अहिले त्रिशुलीमा ठूलो बाढी आएको र बाढीमा ढुंगा, माटो काठ, रुखजस्ता बस्तुहरु पनि बगाएर ल्याएकाले खोज्न गाह्रो भएको उद्धारमा संलग्नहरुको भनाइ छ ।

अर्कोतर्फ सोनार तथा वाटर ड्रोन प्रविधिका अपरेटरहरुलाई यस्तो खोज तथा उद्दारको धेरै अनुभव छैन । यहाँका नदीमा यही प्रविधिको प्रयोगबाट उद्दार कार्यहरु गरिरहने अपरेटर भएको अवस्थामा डिभाइसले गरेका संकेतको अर्थ बुझ्न सहज हुने थियो ।

विदेशी गोताखोरलाई छैन नेपालको अनुभव

नेपालका तीनवटै सुरक्षा निकायले एक सातासम्म खोजी गर्दा पनि बस नभेटिएपछि गृह मन्त्रालयले भारतबाट खोजी तथा उद्दारको टोली ल्याउने जनाएको थियो । तर अहिलेसम्म भारतको टोली आइनपुगेको चिवतनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘मन्त्रालयस्तरबाट रिक्वेस्ट भएको भन्ने जानकारी हामीलाई आएको थियो । तर अहिलेसम्म भारतबाट खोजी तथा उद्दारका लागि टोली आइपुगेको छैन’, यादवले अनलाइनखबरसँग भने, ‘आन्तरिक स्रोत साधनकै भरमा खोजी गरिरहेका छौं ।’



सम्बन्धित
Loading...