सहकारी ठगीमा लामिछानेलाई बोलाउँदै समिति



काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए ।

समितिका एक सदस्यका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । ‘कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ, गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने, ‘गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाउँछौं ।’




सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको तथ्य बाहिरिसकेको छ । लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेला ८० करोड ३१ लाख अपचलन भएको तथ्य पनि सार्वजनिक भइसकेको छ । सुप्रिमबाट २ करोड र सूर्यदर्शनबाट १ करोड लामिछानेका नाममा जम्मा भएको खुलासासमेत भइसकेको छ ।

उनले करिब दुई दर्जन व्यक्तिसँग अझै सोधपुछ गर्ने सूची तय भएको र त्यति सकिएपछि प्रतिवेदनको तयारीमा समिति जुट्ने बताए । सहकारीको बचत अपचलन तथा हिनामिनासम्बन्धी कसुरमा प्रहरी हिरासत र थुनामा रहेका व्यक्तिहरूलाई समितिमा उपस्थित गराएर बयान लिने काममा सहजीकरण गरिदिने सवालमा सोमबार समितिले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग छलफल गरेको थियो ।

समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता बैठकमा गृहमन्त्री लेखकले व्यक्त गरे । उनले समितिलाई सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताको बचत दुरुपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितले न्याय पाउने अवस्थामा केन्द्रित भई समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताए ।

समितिले गृहमन्त्री लेखक, गृह सचिव अर्याल र महानिरीक्षक कुँवरसँग छलफल गरेपछि सहकारी ठगीमा संलग्न १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिएको थियो । विदेशमा फरार रहेका १८ जनाको सूचीमा गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राईलगायत छन् । राईमाथि सानोपाइला, साहरा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गरेको आरोप छ ।

त्यस्तै सुमेरु सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनको नाम पनि सूचीमा छ । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, क्षेदा नेपाली र दीपक पौडेल, सानो पाइलाका तस्बिरन खातुन र असरफ अली, साहरा बचत तथा ऋण सहकारीका सुवास केसी, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगाड्रिम सहकारीका महाशंकर रेग्मी गरी १८ जनालाई विदेशबाट खोजेर ल्याउने संसदीय समितिले भनेको हो ।



सम्बन्धित
Loading...