झाप्लेखोला पहिरोमा पुरिएका १३ जनाको पहिचान खुल्यो





बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार १३ जना मृतकको परिचय खुलेको छ।

गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए। पहिरोमा शुक्रबार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिबार साँझ मात्रै फेला परेका थिए।


उक्त घटनामा विंगर चालक रमेश लुइटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पहिचान खुल्नेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरूकी आमा सिता भट्टराई छन्।

बुटवलको सेमलारका प्रकाश कुंवर, सिर्जना कुंवर, अनु मल्ल, गुल्मीको चारपालाका विरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

त्यस्तै कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार उनीहरूको शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। गाडीमा हराइरहेका आफन्तहरू सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो। प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु १ ज ४५७८ नम्वरको उक्त जिपमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। तीमध्ये बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ।

यही ठाउँमा आइतबार पनि थप शवहरू फेला परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरिरहेका छन्।



सम्बन्धित
Loading...