बाढी, पहिरो र डुबानमा परी एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता





बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ।

त्यस्तै ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्। एक सय ११ जना घाइते भएका छन्।


गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत दिएको जानकारी अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद प्रभावितको उद्धार गरिएको छ।

काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुर लगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बाढी, पहिरो प्रभावितलाई खाद्यान्न लगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताए।

‘खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ। सम्बन्धित निकायसँगको समन्वयमा अवरूद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेकाले छ,’ सूचनामा भनिएको छ, ‘प्रदेश सरकार, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिसमेत विपद प्रभावितको खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेका छन्।’



सम्बन्धित
Loading...