मलेसियामा हत्या भएकी कावासोतीकी महिलाको ११ महिना पछि शव नेपाल ल्याइयो




रामकुमार श्रेष्ठ –

नवलपरासी । पाकिस्तानीद्वारा मलेसियामा हत्या गरिएकी कावासोती नगरपालिका–४ की तीलमाया सार्कीको शव ११ महिनापछि आज नेपाल ल्याइएको छ ।



सामी कार्यक्रमकी परामशदार्ता रञ्जना लम्सालका अनुसार दिउँसो तिलमायाको शव काठमाडौं ल्याइएको हो ।

२१ महिनाअघि तीलमाया श्रीमानसँग सम्बन्ध विच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तीलमायाको हत्या भएको थियो ।

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरुको प्रयासलाई बल पुग्ने गरी समाचार छापिएपछि शव नेपाल ल्याउन सम्भव भएको लम्सालले बताइन् । उनको शव आजै कावासोती ल्याउने र भोली अन्त्येष्टि गरिनेछ ।

बहिनीको शव लिनका लागि तीलमायाकी दिदी नीलमाया काठमाडौं गएकी छिन् । शव सडेको अवस्थामा भए पनि ७० वर्षीया आमा धनमायाले हेर्न चाहेकाले घर ल्याउन थालिएको लम्सालले बताइन् ।

हत्या लगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको थिएन । उनको शव नेपाल ल्याइए पनि राहात रकमको लागि पहल भइरहेको र १५/२० दिनमा राहात पनि आइसक्ने आप्रवासन केन्द्रले जनाएको छ ।

नेपालमा बैदेशिक रोजगार बोर्ड र विमा कम्पनीले राहात रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूति रकम भराइने लम्सालले बताइन् ।

तिलमायाकी दिदी नीलमायाका अनुसार गत वर्षको वैशाख २६ गते परिवारसँग अन्तिम सम्पर्क भएको र त्यसको एक हप्तापछि हत्या भएको खबर आएको थियो । मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले शल ल्याउन ढिलाई भएको हो ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नु पर्छ । बोर्डका प्रवक्ता टीकाराम ढकालले पनि पाकिस्तानीमाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिलाइ भएको बताए ।

त्यसैगरी कुवेतमा मृत्यु भएका कावासोती १५ निवासी ४१ बर्षीय गिरीधारी महतोको शव भोलि नेपाल आउने भएको छ ।

उनको १० दिन अगाडि मृत्यु भएको थियो ।

त्यसैगरी साउदी अरबमा दुर्घटनामा परी ज्यान गुमाएका मध्यविन्दु ९ निवासी सन्तराम चौधरीको शव पनि नेपाल आउने भएको छ ।

उनको शव चैत्र ७ गते नेपाल ल्याइने भएको सामी कार्यक्रमकी परामर्शदाता रञ्जना लम्सालले बताइन् ।

 


सम्बन्धित
Loading...