नवलपुरमा ५९ हजार १२० मेट्रिक टन आलु उत्पादन
नवलपुरमा चालु आ.ब.मा ५९ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादन समेत बढेको छ ।
जिल्लामा यो आर्थिक वर्षमा तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनु भयो । गत वर्षको तुलनामा यस वर्ष खेती गरिने क्षेत्र र उत्पादन समेत बढेको काफ्ले बताउनु भयो ।
“गत आर्थिक वर्ष तीन हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा आलु खेती हुँदा ५८ हजार चार सय १३ मेट्रिक टन उत्पादन भएको थियो”,उहाँले भन्नु भयो,“गत आ.व.को तुलनामा यस वर्ष ११ हेक्टर क्षेत्रफल बढेको छ भने सात सय सात मेट्रिक टन आलु धेरै उत्पादन भएको छ । ”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा विगत चार वर्ष देखि आलु खेती तर्फ किसानहरूको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताउनु भयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार पछिल्लो चार वर्षमा जिल्लामा आलु खेती एक सय एक हेक्टर क्षेत्रफल बढेको छ । क्षेत्रफल बढे सँगै आलुको उत्पादन पनि वृद्धि भएको प्रमुख तिवारीले बताउनु भयो ।
“जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको तथ्याङ्क रहेको छ भने त्यो क्षेत्रफल चालु आ.व.२०८१/८२ सम्म १०१ हेक्टरले बढेर तीन हजार दुई सय १६ हेक्टरमा विस्तार भएको छ”,उहाँले भन्नु भयो,“उत्पादन पनि आ.व. २०७८/७९ मा ५० हजार एक सय ५२ मेट्रिक टन भएकोमा त्यसमा आठ हजार नौ सय ६८ मेट्रिक टनले वृद्धि भएर ५९ हजार एक सय २० मेट्रिक टन वार्षिक उत्पादन हुन थालेको छ ।”
जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको कृषि ज्ञान केन्द्रका कृषि बाली विज्ञ सञ्जय ढकालले बताउनु भयो ।
“आलु उत्पादनका हिसाबले नवलपरासी(बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ” ,उहाँले भन्नुभयो,“सरकारी तह वाट लगानी वृद्धि हुँदा कृषकहरू आलु खेती तर्फ आकर्षित भएका छन् ।”
कृषि ज्ञान केन्द्रले चालु आ.ब.मा समुदायस्तमा प्रशोधनयोग्य र खायन आलु प्रवद्र्धनको लागि कुल एक करोड ८५ लाख रकम विनियोजित गरेको थियो । आलुको बीउको लागि कृषि ज्ञान केन्द्रले ३१ वटा समूह एवं सहकारीलाई ६५ प्रतिशत अनुदानमा करिब ८० लाख बराबरको अनुदान प्रदान गरेको कृषि बाली विज्ञ ढकालले जनकारी दिनु भयो ।
जिल्लाको मध्यविन्दु र कावासोती नगरपालिका एवं हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँ लगायतका सहरमा जाने गरेको छ ।