बसको ब्रेक फेल भई पैदल यात्रुलाई ठक्करदिंदा तीनको मृत्यु, ३ जना घाइते
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । घटनामा चारजना घाइतेमध्ये गम्भिर घाइते भएका थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।
मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ९ का लेखापढी व्यवसायी ४० वर्षका कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र सोही विद्यालयका अर्का शिक्षक ३५ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घटनामा मालपोत कार्यलय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
घटनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्हवी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको पालुङस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।
मकवानपुर प्रहरीका अनुसार पालुङको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस अचानक ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो । दुर्घटनापछि बसको चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।