नदीमा आश्रित समुदायको वैकल्पिक पेशा बन्दै नेचर गाइड




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको अमलटारी, दिव्यपुरी लगायतका क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जंगल सफारी जाने पर्यटकहरुको वृद्धि भएसँगै नवलपुरका युवा समुदायमा नेचर गाइड पेशा प्रति आकर्षण बढेको छ ।

राम्रो समूह पाए र वाह्य पर्यटकको गाइड हुन पाए पारिश्रमिकका अलवा राम्रो टिप्स पनि पाइने भएकोले यहाँ नेचरगाइड प्रति युवा पुस्ताको आकर्षण बढ्दो छ । पर्यटकहरुसँग सँगसँगै घुम्न पनि पाइने र आम्दानी पनि हुने यो पेशा अहिले पछिल्लो समय व्यवसायिक समेत बन्दै गएको छ ।



गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज र ताल परियोजनाको संयुक्त सहयोगमा माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलुपरको आयोजनामा कावासोती १५ अमलटारीमा सञ्चालित नेचर गाइड तालिममा कावासोती, देवचुली, मध्यविन्दु लगायतका क्षेत्रका युवा पुस्ताको सहभागिता रहेको छ ।

सहभागी ४१ जना मध्ये ४१ जना नै परीक्षामा पास भएका छन् । तालिमको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, पर्यटन तथा उद्योग मन्त्रालयका सचिव तथा कर्मचारीहरु, निकुञ्जका कर्मचारीहरुको सहभागितामा समापन गरिएको छ ।

तालिममा सहभागी कावासोती १५ बागखोरकी १९ बर्षीया सुजिता बोटेले नेचर गाइड तालिममा सहभागी भएपछि आफूहरुमा निकुञ्ज र पर्यापर्यटनको बारेमा जान्ने अवसर पाएको र यसले नदीमा आश्रित युवा समुदायलाई नेपालको जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रबद्र्धनमा लाग्न प्रेरणा मिलेको बताइन् ।

तालिममा विशेष गरी नारायणी नदी र निकुञ्जमा आश्रित बोटे, माझी, मुसहर, थारु समुदायका युवा युवतीहरुको सहभागिता रहेको ज्ञानबहादुर बोटे बताउनुभयो । तालिममा युवा भन्दा युवतीहरुको सहभागिता बढी रहेको छ । सरकारले जंगल सफारी गर्दा एउटा समूहमा १ जना नेचर गाइड अनिवार्य गरेसँगै अहिले नेचर गाइडमा रोजगारीका अवसर बढेको ज्ञानबहादुर बोटेले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ, भालु, गैडा, जंगली हात्ती लगायत जरायो, मृग, हरिण, निल गाई लगायतका जंगली जनवारका साथै यहाँको जैविक विविधता र पर्यावरणको अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकहरु आउने क्रम बढको छ । यहाँ पर्यटकहरु आउने क्रम बढेसँगै नेचर गाईडको भविश्य पनि उज्जवल रहेको कावासोती १५ मा सञ्चालित अमलटारी होम स्टे भिलेजका अध्यक्ष प्रेमशंकर मर्दनिया बताउँनुहुन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आउने क्रम बढेसँगै निकुञ्ज आसपास रहेका नवलपुर चितवनका होटल, होम स्टे लगायतबाट स्थानीयको जीवन स्तर उकासिएको छ भने जंगल सफारीबाट पनि निकुञ्ज आसपासका बासिन्दामा रोजगारीको अवसर पनि बढेको छ ।

कावासोतीकी नेचर गाइडकी प्रशिक्षार्थी १९ बर्षीया गंगा महतोले नेचर गाइडले नेपालको पर्यटकीय क्षेत्रको बारेमा नेपालीलाई मात्र जानकारी गराउने नभएर विदेशबाट आएका वाह्य पर्यटकहरुलाई पनि यसको बारेमा जानकारी गराउन सकिने पेशा भएकोले युवा पुस्तका लागि निक्कै उपयोगी भएको बताइन् ।

तर पछिल्लो समय पर्यटकहरु आउने क्रम बढेसँगै पर्यटन व्यवसायीहरुबीच भएको अस्वस्थ्य प्रतिप्रर्धा बढेको छ । यस क्षेत्रमा आएको अस्वस्थ प्रतिप्रर्धा हटाउन सके यस क्षेत्रको भविष्य राम्रो रहेको नेचर गाइडको प्रशिक्षक एवम् यहाँको जैविक विविधताको क्षेत्रमा अभियान्ताका रुपमा लागेका डिबी चौधरी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र अहिले बाघ, भालु, गैडा लगायतका दुलर्भ जंगली जनवारहरुको दृष्यावलोकन मात्र नभई जटायु रेष्टुरेन्ट, नारायणी नदीमा पाइने जलचर, गोही प्रजनन केन्द्र, निकुञ्ज भित्र रहेका तालतलैयाहरु यहाँ आउने पर्यटकहरुको आकर्षकको प्रमुख केन्द्र बन्ने गरेका छन् ।



सम्बन्धित
Loading...