डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध, बाटो खुल्न दिनभर लाग्ने




रामकुमार श्रेष्ठ –

नवलपुर । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको चोरमारा स्थित गिरुवारी खोला र दुम्कीवास स्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग गएरातिदेखि ठप्प भएको छ ।



चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।

चोरमाराको गिरुवारी खोल पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए । दुम्किबासमा नयाँ पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने चोरमारामा पुरानै पुल मर्मत गरेर सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेको छ ।

डाइभर्सन बगाएको ठाउँमा नयाँ डाइभर्सन बनाउन आज दिन भर लाग्न सक्ने भएको भन्दै सडक डिभिजनले आज दिन भर यो बाटो भएर यात्रा नगर्न सूचना जारी गरेको छ ।

गएराति पानी परेसँगै आएको बाढीले दुम्किबास र चोरमाराका दुवै स्थानको डाइभर्सन बगाएको छ ।



सम्बन्धित
Loading...