चितवनमा तयार भयो बायोसेफ्टी प्रयोगशाला
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सक्कायपरिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको छ। प्रयोगशालाको बागमती प्रदेश सरकार कृषि तथा पशु॒पन्छौ विकासमन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गरेका छन्।
प्रदेश सरकारको १५ करोडको आर्थिक सहयोगमा बनेको प्रयोगशाला मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियालाई हस्तान्तरण गरे।
प्रयोगशाला भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकासमन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरबको योजना रहेको बताए।
मन्त्री श्रेष्ठले बागमती प्रदेशका ६ लाख किसानसहित देशभरिका किसानले यसबाट लाभ लिन सक्ने बताए। प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्नसमेत प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए।
कार्यक्रममा बागमती प्रदेश सरकारका वनमन्त्री कृष्णप्रसाद सिलवालले रोगका असर र रोकथामका विधि तयार गर्न प्रयोगशाला उपयोग हुने बताए।
प्रविधिको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवालले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपाय बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गरे। प्रयोगशाला पशुपन्छी एवं खेतीबालीमा देखिने रोग किराको सूक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टीकृत सुरक्षा व्यवस्थासहित निर्माण गरिएको छ।
ढुसी, ब्याक्टेरिया, भाइरसको सूक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले बताए।
प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको छ। उनले भने, “नयाँ प्रयोगशाला भवन पूर्ण रूपमा बायोसेक्युरिटीसहित बनेको छ। अहिले विश्वविद्यालयमा रहेकै मेसिनको प्रयोगबाट अगाडि बढ्ने छौं।”
प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेसिन खरिदका लागि पाँच करोड रुपैयाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने जानकारी दिए। प्रयोगशाला सञ्चालनका लागि कार्यविधिको मसौदा तयार भइसकेको र त्यसलाई अन्तिम रूप दिने कार्य भइरहेको उपकुलपति प्राडा थपलियाले बताए।
उदघाटन कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, विश्वविद्यालयका रजिस्ट्रार प्राडा पुष्करबहादुर पाल, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डिन प्राडा भूमिनन्द देवकोटालगायतले मन्तव्य राखेका थिए।