कावासोतीमा अनुदानको धानको विउ उम्रिएन
नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको धानको विउ मध्य सावा मन्सुलीको विउ नम्रिएका कारण किसानहरु समस्यामा परेका छन् ।
कावासोती नगरपालिकाले संघीय सरकारको सशर्त अनुदानमा सावा मन्सुली, सावित्री, रामधान, हर्दिनाथ १, स्वर्ण सव १ लगायतका धानको विउ वितरण गरेको थियो ।
ति मध्ये सावा मन्सुलीको धानको विउ नउम्रिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिव नारायण कुमालले बताए । कावासोती ४ र ६ का किसानहरुले सावा मन्सुलीको धानको विउ लगेको र अधिकांशमा धानको विउ नउम्रिएको कुमालले जानकारी दिए ।
कावासोती नगरपालिकाले करिब २७ लाख ३५ हजार बराबरको धानको विउ अनुदानमा वितरण गरिएको थियो ।
उक्त धानको विउ कावासोती १७ मा रहेको साना किसान कृषि सहकारी संस्थाबाट खरिद गरिएको धानको विउ हो । किसानले लगाएका धानका विउहरु मध्ये कतै सत प्रतिशत नउम्रिको र कतै ५० प्रतिशत उम्रिएको पाइएको छ । धानको विउ मध्ये कम्तिमा ८० प्रतिशत धानको विउ उम्रिनु पर्ने मान्यता रही आएको छ ।
कावासोती ६ का वडाध्यक्ष यमबहादुर थापाले आफूसँग पनि गुनासो आएको र कावासोती ६ का किसानहरुले राखेको सावा मन्सुलीका धानको विउमा समस्या देखिएको बताए ।
त्यस्तै गरी कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले पनि आफ्नो वडा भित्रका किसानहरुले राखेको सावा मनसुली धानको विउमा पनि समस्या देखिएको बताए ।
कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिव नारायण कुमालले धानकै विउमा समस्या हो वा धानको विउ राख्ने तौरतरिकामा फरक परेर यस्तो भएको प्राविधिक र विज्ञहरु सहितको टोलीले अध्ययन गरिरहेको जानकारी दिए ।