बुटवल नारायणगढ सडकः ४४ दिनमा २४ पटक सडक अवरुद्ध

मंगलबारदेखि दाउन्ने र दुम्किबासमा लगातार बाटो बन्द




रामकुमार श्रेष्ठ –
नवलपुर । बैशाख २३ गते यता बुटवल नारायणगढ सडक खण्डको नवलपुर खण्डको सडक बुधबारसम्म २४ पटक सडक अवरुद्ध भएको छ ।

पछिल्लो ४४ दिनको अवधिमा २४ पटक नवलपुरका सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ ।



दाउन्नेको १४ किलोमिटर सडक खण्ड, दुम्किबासको विनयी खोला, चोरमाराको गिरुवारी खोला, गैडाकोटको बेल्डियामा पुलमा पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

यो अवधिमा दाउन्नेको सडक १० पटक अवरुद्ध भएको छ भने मध्यविन्दुको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएपछि ६ पटक र दुम्किबासको विनयी खोलामा फुल भाँचिएपछि ९ पटक सडक अवरुद्ध भएका छन् त्यसका अवला अन्य ठाउँमा पनि पटक पटक सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपनि सडक खुल्न २ देखि १२ घण्टासम्म लाग्ने गरेका छन् ।

मंगलबार विहानै भारी बर्षाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग गएराति केही समय सञ्चालनमा आएको भए पनि विहान ४ बजेदेखि पुन अवरुद्ध भएको छ ।

मंगलबार विहान दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएर सडक अवरुद्ध भएको थियो भने दाउन्नेमा सडक हिलो र चिप्लो भएर उकालोमा सवारी साधन चढ्न सकेको थिएन् । दाउन्नेमा साँझ पखबाट केही सवारी साधन पास भएको भए पनि दुम्किबासको विनयी खोलामा डाइभर्सन मर्मत पछि राति सडक सञ्चालनमा आएको थियो ।

बुधबार विहान ४ बजेबाट दुम्किबासको विनयी खोलाको डाइभर्सन बगाएपछि पुन सडक अवरुद्ध भएको सडक आयोजनाले जनाएको छ । नदीमा पानीको सतह घटेपछि पुन डाइभर्सन मर्मत गरी सडक सञ्चालन गर्ने सडक आयोजनाले जनाएको छ । तथापि बुधबार दिनभर सडक खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दाउन्नेको उकालोमा पनि अहिले हिलो र चिप्लोका कारण सवारी साधन उकालोमा उक्लन सकेको छैन । दाउन्ने खण्डको ९ किलोमिटर पूर्वी खण्डमा ६ ठाउँमा बाटो एकतर्फी रहेको छ । यहाँ कल्भर्ड निर्माणको काम अपुरै रहेकोले ६ ठाउँमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
चोरमाराको गिरुवारी खोलाको पुलमाथिबाट सवारी साधन सञ्चालनमा नआउँदासम्म एकै पटक ३ ठाउँसम्म सडक अवरुद्ध हुने गरेको थियो । एसपी ढकालका अनुसार दाउन्ने र दुम्किबासमा तत्काल सवारी साधन सञ्चालन हुन सक्ने अवस्था छैन ।
नवलपुर र यस आसपासको क्षेत्रमा मंगलबार विहान ४ बजेतिर भारी बर्षा भएको थियो भने बुधबार राति २ बजेतिर फेरि भारी बर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत बैशाख २९ गते अधिक भार बोकेको सिमेन्ट उद्योगको ट्रकको कारण गिरुवारी खोला पुलमा क्षति भएको थियो । उक्त पुल गत जेठ २३ गते शुक्रबार साँझबाट सञ्चालनमा आएको छ । तथापि पुल जीर्ण रहेको कारण प्रहरीले २४ घण्टे पहरा दिएर बसेको छ । यहाँ ४० टन भन्दा बढी सवारी साधन बोग्न नपाउने गरी प्रहरीले सुरक्षा दिएको छ ।

गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको विनयी खोलामा पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।
दुम्किबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको भए पनि निर्माण सम्पन्न भएको २८ दिनसम्म पुल सञ्चालनमा नल्याउने भएका कारण अझै सञ्चालनमा आउन सकेको छैन ।

जेठ २३ गते निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आउन कम्तिमा असार २० गतेसम्म कुर्नु पर्ने देखिन्छ । यता दाउन्ने सडक खण्डको अवस्था भने यस्तै छ । यो सडक खण्ड यस पटकको बर्षामा ढलान तथा कालो पत्रे नहुने भएको छ । दाउन्नेको पश्चिम खण्डमा यात्रा सहज भए पनि दाउन्नेको पूर्वी खण्डमा भने यात्रा अझै सकस पूर्ण रहेको छ ।

दाउन्नेमा पूर्वी खण्डमा रहेको ९ किलोमिटर सडकमध्ये करिब ४ सय मिटर मात्र ढलान भएको छ । चाइना स्टेट कम्पनी बुटवल नारायण सडक पूर्वी खण्डका इन्जिनियर राकेस झाका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारीमा रहेको छ । दाउन्ने खण्डमा त्यो वाहेक अन्य ढलान वा कालो पत्रेको काम यस बर्षा अगाडि हुन नसक्ने चाइना स्टेट कम्पनी बुटवल नारायण सडक पूर्वी खण्डका इन्जिनियर राकेस झाले बताए ।
बुटवल नारायणगढ सडक खण्डमा अहिलेसम्म भौतिक प्रगति ६७ प्रतिशतका हाराहारीमा पुगेको छ ।

https://www.facebook.com/100089497674171/videos/1255646109279761



सम्बन्धित
Loading...