माल्टाको समुन्द्रमा डुबेर नवलपुरका युवकको मृत्यु
नवलपुरका युवा रोबर्ट न्यौपाने (एलिस) को माल्टामा मृत्यु भएको छ ।
देवचुली नगरपालिका १३ दलदले घर भएका न्यौपानेको समुन्द्र किनारमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उहाँ विगत २० महिनादेखि रोजगारीका लागि माल्टाको ओर्मीमा बसोबास गर्दै आएका थिए ।
२५ वर्षीय युवाक न्यौपाने विच साइडमा सोमबार साथीहरुसंग पौडी खेल्न गएका थिए । उनको शव ल्याउन ६ हजार युरो लाग्ने भएका कारण पैसा संकलन गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका सदस्य हरी प्रसाद पौडेलले जानकारी दिए ।
‘गो फण्ड मार्फत नेपालीले पैसा उठाइसकेका छौं, उनले भने – ‘एक दुई दिनमै शव नेपाल पठाउँछौं ।’ मृतक न्यौपानेका एक जना आमा मात्र रहेका छन् ।
गैरआवासीय नेपाली संघ माल्टाले माल्टा र गोजोमा रहेका नेपाली संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायलाई समन्वय गरी सहयोग संकलन गरेको हो । गम्भीर र पीडादायक यस घटनाले नेपाली समुदायलाई मर्माहत बनाएको पौडेलले बताए ।
यता सामी परियोजनाका रञ्जना लम्सालले आफूहरुले निजको परिवारसँग घटनाको बारेमा जानकारी लिने काम भईरहेको र श्रम गरेर गएको भए शव ल्याउन पैसा नलाग्ने बताइन् ।