नारायणी नदीमा एकै दिन दुई जनाले हाम फाले
रामकुमार श्रेष्ठ
नवलपुर । नारायणी नदीमा एक्कै दिन दुई जनाले हाम फालेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ५ कुसमुघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी घर भएका ५९ बर्षीय मिठा गिरी नदीमा हाम फालेर वेपत्ता भएका हुन् ।
आज साँझ आठ बजेतिर पुलमा आफ्नो नागरिकता छाडेर ५९ बर्षीय गिरी नदीमा हाम फालेका हुन् । नारायणगढ र गैडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
त्यसैगरी आज विहान विहान सवा ६ बजेतिर गैडाकोट ५ कुसुमघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ पनि नदीमा हाम फालेरे वेपत्ता भएका छन् । उनको विहानैदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीका खोजीकार्य जारी राखेको भए पनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
ति किशोरसाईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कक्षा ९ मा अध्ययनरत १५ बर्षीय आदेश श्रेष्ठका मामाका अनुसार उनी विहानै घरबाट कसैलाई केही नभनी निस्केका थिए । उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।