नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको उम्मेदवारी रद्द भएको छ । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट देवेन्द्रराज कंडेल र भिमबहादुर थापा भरतको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले कंडेलको उमेदवारी रद्द गरेको हो ।
पार्टीले नवलपरासी १ मा कंडेल र थापालाई उम्मेदवार बनाएको थियो । थापाले पहिला मनोनयन दर्ता गरेका थिए भने कंडेलले थापा भन्दा पछि उम्मेदवारी दर्ता गरेका थिए ।
त्यसैगरी काँग्रेसकै तर्फबाट दुई जनाको उम्मेदवारी परेको नवलपुर क्षेत्र नं. १ मा गजेन्द्र बहादुर आलेको मनोनयन रद्द भएको छ । यहाँ काँग्रेसको तर्फबाट बालकृष्ण घिमिरे र गजेन्द्र बहादुर आलेको उम्मेदवारी परेको थियो ।
मनोनयन दर्ता गराउने क्रममा बालकृष्ण घिमिरेले पहिला मनोनयन दर्ता गराएका थिए भने आलेले वारेसनामा मार्फत घिमिरे पछि मनोनयन दर्ता गराएका थिए ।
नवलपुर क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी घिमिरेको मनोनयन कायम राखी आलेको खारेज गरेको जनाएको छ ।