आदिवासी जनजातिका उम्मेदवारलाई मतदान गर्न आदिवासी जनजाति महासंघ नवलपुरको अपिल




नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले फागुन २१ गते हुने निर्वाचनमा आदिवासी जनजातिका उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठद्वारा सार्वजनिक अपिलमा आदिवासी जनजातिको मुद्दाहरु स्थापित गराउन आदिवासी जनजातिकै उम्मेदवारहरु विजय हुनु पर्ने बताउँदै आदिवासी जनजाति मतदातालाई आदिवासी जनजातिका उम्मेदवारलाई मत दिएर विजय गराउन अपिल गरेको हो ।




अपिलमा आदिवासी जनजातिका राष्ट्रिय तथा स्थानीय मुद्दाहरुलाई नयाँ पुराना दल तथा तिनका उम्मेदवारहरुको घोषणा पत्रमा समेट्न नसकेको पनि उल्लेख गरिएको छ । त्यसैगरी जेनजी आन्दोलन पछि बहसमा आएका विषयहरु पहिचान सहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लगायतका विषय यसै निर्वाचनमा समेट्नु पर्नेमा त्यसो नगरेर जेनजी आन्दोलनले विघटन गरेको प्रतिनिधि सभालाई पूर्णता दिन र नयाँ सरकार गठनका लागि मात्र भएको पनि नेपाल आदिवासी जनजाति महासंघले ठहर गरेको छ ।

सार्वजनिक अपिलको पूर्ण पाठ

सार्वजनिक अपिल

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि उत्पन्न परिस्थिति र त्यसको परिणाम स्वरुप अहिले नेपालमा फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन लागेको कुरा हामी सबैमा सर्वविदित्तै छ । जेनजी आन्दोलन पछि नेपालमा पहिचान सहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जस्ता विषयहरु बहसमा आए तर त्यो माग यो निर्वाचनले सम्बोधन गर्नु पर्नेमा जेनजी आन्दोलनले विघटन गरेको संसदलाई पूर्णता दिने र नयाँ सरकार गठनको लागि मात्र हुने ढंगले यो निर्वाचन अगाडि बढ्यो । तथापि यो निर्वाचनमा नयाँ पुराना सबै राजनीतिक दलहरुको घोषणा पत्रमा आदिवासी जनजातिका अधिकार, पहिचान, भाषा संस्कृति संरक्षण, पहिचान सहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आदिको विषयमा मौन रहेको देखिन्छ । कुनै पनि पार्टीको घोषणा पत्रमा यस्ता विषय खुलेर आएको देखिदैन । त्यति मात्र होइन नवलपुरमा यहाँ रहेका राजनीतिक दल तथा पूर्व जनप्रतिनिधि तथा हालका बहालवाला प्रतिनिधिहरुले स्थानीय स्तरमा आदिवासी जनजाति समुदायसँग सरोकार रहेका विषयहरुलाई न त कहिलै चुनावी घोषणा पत्र वा प्रतिबद्धता पत्रमा समेट्यो न त निर्वाचित भए पछि नै व्यवहारमा उतार्न सक्यो । आदिवासी जनजातिको हकहित, अधिकार, पहिचान, आदिवासी जनजातिको भाषा, धर्म, कलासंस्कृति संरक्षण लगायतका विषयहरु कार्यान्वयनमा आउन सकेन ।

अतः फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवारहरुलाई आदिवासी जनजाति समुदायको स्थानीय स्तरका मुद्दाहरु (जस्तै आदिवासी जनजातिको मठमन्दिर, गुठी, गुम्बा संरक्षण सम्बद्र्धन, जिल्ला भित्र रहेका आदिवासी जनजातिको कला, भेषभुषा, भाषा संरक्षण, विद्यालयहरुमा आदिवासी जनजातिको भाषा अध्ययन अध्यापन, आदिवासी जनजातिको भाषालाई कामकाजी भाषाको मान्यता दिने, नमुना सदरमुकामको डिपिआर निर्माणको क्रममा हामीसँग गरिएको सम्झौता लगायतका यावत विषयहरु) समेट्न सकेको छैन भने राष्ट्रिय स्तरमा आदिवासी जनजातिका भाषाहरुलाई कामकाजी भाषाको मान्यता दिने, आदिवासी जनजातिको पर्व तथा संस्कृतिहरुलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिने, आदिवासी जनजातिको पहिचान सहितको संघीयता, आदिवासी जनजातिको जनसंख्याको आधारमा राज्यका हरेक निकायमा सहभागिता जस्ता गम्भीर विषयलाई पनि समेट्न सकेको छैन । यस्ता विषयहरु सबै समेट्न, आफ्ना पार्टीको ऐजण्टा बनाउन र निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुलाई यि विषय संसदमा उठाएर कानुनी रुपमा कार्यान्वयनमा ल्याउन भूमिका खेल्नुहुन पनि हामी सार्वजनिक रुपमा अपिल गर्दछौं । अहिलेको निर्वाचनमा धेरै जसो दलहरुले आदिवासी जनजातिहरुको जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार नबनाउनु पनि आदिवासी जनजातिको लागि दुर्भाग्य हो ।

अन्त्यमा, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न होस् भन्ने कामना सहित आदिवासी जनजातिका अधिकारहरु सुनिश्चित गर्न नवलपुर जिल्ला भित्र रहेका बहुमत सम्पूर्ण आदिवासी जनजातिहरुले कुनै पनि पार्टी नहेरी आदिवासी जनजातिका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउँन सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक अपिल गर्दछौं ।

मिति २०८२।११।१८ गते अध्यक्ष रामकुमार श्रेष्ठ



सम्बन्धित
Loading...