बाढीले बगाएर लगेको तीन वटा गैडा भारतले नेपाल ल्याउन दिएन


रामकुमार श्रेष्ठ
नवलपरासी, २५ मंसिर ।



गएको बर्षाको बेला नारायणी नदीमा आएको बाढी बगाएर भारत पुराएका ३ वटा गैडा भारतले नेपाल ल्याउन दिएको छैन ।
नेपाली सीमा आसपास भारतीय जंगल नजिकै रहेका तीन वटा गैडा ल्याउनका लागि प्राविधिक टोली गए पनि भारतमा रहेका सुरक्षाकर्मीहरुले भारतको केन्द्रको अनुमति नआएसम्म लैजान नदिने जनाउँदै टोलीलाई गैडा नेपाल ल्याउनबाट रोक लगाएको हो ।
अघिल्लो बर्षको ठूलो बाढी निकुञ्जमा पस्दा ११ वटा गैडा बगेर भारत पुगेको थियो भने यस बर्षका बाढीले एउटा गैडालाई बगाएर भारत पुर्याएको थियो । ती मध्ये ९ वटा गैडा बाढी रोकिना साथ नेपाल ल्याइएको भए पनि भारतमा रोकिएका ३ वटा गैडा नेपाल ल्याउनबाट रोकेको सुस्ताका स्थानीय बासिन्दा रविन्द्र बानियाँले बताए ।
ती गैडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । ढकालले भने – “जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्नु त्यो देशको जिम्मा हुन्छ । तर अहिले रोकिएको ३ वटा गैडा भएको क्षेत्र घाँसे मैदान, तालतलैया, जंगल नभएको चुरेको डाँडो भएकोले उक्त क्षेत्र गैडाका लागि उपयुक्त वासस्थान होइन । त्यसैले फकाउन थालेका हौं ।”
ती गैडाहरु नेपाल भारतको सीमा नजिकको जंगलमा रहेकोले नेपाल छिर्ना साथ निकुञ्ज ल्याउने गरी टोली परिचालन गरिएको उनले बताए ।
गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी रेञ्ज पोष्टका रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ती सहितको टोली उक्त क्षेत्रमा रहेको छ । तर भारतले आफ्नो वन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि कर्मचारी नै खटाएर नेपाल आउन तर्फ रोक्ने गरेको सुस्ताबासीले बताएका छन् । ती गैडाहरु सुस्ता आसपासका क्षेत्रमा रहेका छन् । नेपाल नजिकै आइपुग्दा ति गैडाहरुलाई भारतीय कर्मचारी र सुरक्षाकर्मीले भारततर्फ धपाउने गरेको स्थानीय रविन्द्र वानियाले बताए ।
ढकालले भने ती गैडाहरु दशगजा क्षेत्रमा छन् नेपाल प्रवेश गर्नासाथ नेपाल ल्याइन्छ गत बर्ष ९ वटा गैडा फिर्ता गर्न भारतीय पक्षले सजिलै सहयोग गरेको उनले सुनाए । यस पटक निकुञ्जबाट विभाग हुँदै वनमन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैडा फिर्ता गर्नका लागि पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए
ति गैडाहरु सुस्ता पारी र बाल्मिकी आश्रमको आसपासको क्षेत्रमा छन् । जुन नेपाली भूमि भारतले अतिक्रमण गरेर विवादित बनाएको भूमि हो ।
हात्ती सहितको टोली सुस्तामै रहेको छ । गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको शसस्त्र प्रहरी खटिरहेको छ ।



सम्बन्धित
Loading...