नमुना सदरमुकाममा काम गर्ने मजदुर सरोज थारुको करेन्ट लागेर ज्यान गयो

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती ३ मा निर्मित नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार नमुना सदरमुकाममा निर्माणाधिन सभा हलमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ घर भई हाल कावासोती नगरपालिका २ मा डेरा गरी बस्ने ३५ बर्षीय सरोज थारुको निधन भएको हो ।
सोमबार दिउँसो काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
उक्त भवन समानन्तर जे.बि. बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.द्वारा निर्माण जिम्मा लिएको हो । सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।
सोही ठाउँका मजदुर झम्कबहादुर श्रेष्ठले राति पानी परेको र पानी जमेका कारण करेन्ट लागेको बताए । उनका अनुसार करेन्ट लागेको थाहा पाउना साथ लाइन छुटाएर थारुलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु अस्पताल पठाइएको थियो । ड्रिल गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो ।