यी हुन् अमेरिका र रुसको सैन्यशक्तिलाई चुनौती दिने चीनका तीन आधुनिक अस्त्र

53







चीन, संयुक्त राज्य अमेरिका र रुस आधुनिक युगको सामरिक अस्त्र प्रतिस्पर्धामा छन्।

आन्तरिक तनाव र समुन्द्री क्षेत्रको भूराजनैतिक विवादमा फँसेको बेइजिङले आफ्नो सेनालाई आधुनिक बनाउन सन् १९९० यता धेरै खर्च गरेको छ।

तर राष्ट्रपति सी जिनपिङको कार्यकालमा चीन र यसका प्रतिस्पर्धी राष्ट्रहरूको दूरी घटेको छ र चीन विश्वको सबैभन्दा शक्तिशाली सैन्यशक्ति बन्ने बाटोमा छ।

“चीनको दुई अंकको आर्थिक समृद्धि हालै सुस्त भएको छ तर त्यसले चीनको रक्षा प्रणालीलाई आधुनिक बनाउन केही पञ्च वर्षिय योजनाहरूलाई टेवा दियो,” अमेरिकी रक्षा सूचना एजेन्सीको हालैको एक प्रतिवेदनमा लेखिएको छ।

“बहुआयामिकरुपमा प्रविधि प्राप्त गर्ने नीतिको नतिजास्वरुप चिनियाँ सेनासँग विश्वको सबैभन्दा आधुनिक हतियारहरू हुने अवस्था छ। केही क्षेत्रमा त यो विश्वमा अग्रणी बनिसकेको छ।”

यहाँ चीनसँग भएका सबैभन्दा आधुनिक हतियारहरू र समकालिन अस्त्र प्रतिस्पर्धामा तिनको महत्व दर्शाउने प्रयास गरिएको छ।

. सबैभन्दा शक्तिशाली समुन्द्रीअस्त्र

सन् २०१८ को डिसेम्बरमा सामाजिक सञ्जालमा आएका तस्बिरहरूले चीनले आवाजकोभन्दा छिटो गतिमा प्रहार गर्न सक्ने अस्त्र बोक्ने जहाज बनाउने प्रतिस्पर्धा जितिसकेको हुनसक्ने देखाएका छन्।

जहाजमा जडान गरिएको यो अस्त्रले विद्युत चुम्बकीय शक्ति प्रयोग गरेर प्रति सेकेण्ड २ दशमलव ५ किलोमिटरको गतिमा २०० किलोमिटर परको लक्ष्यमा प्रहार गर्न सक्छ।

सीएनबीसीमा जूनमा प्रसारित समाचारका अनुसार यो अस्त्र २०२५ सम्ममा तैयार हुनसक्ने छ।

अमेरिकाले जमिनबाट प्रहार गर्नसकिने यस्तै अस्त्रमा काम गरिरहेको छ भने रुस र इरानपनि यसमा इच्छुक देखिएका छन्।

सामाजिक सञ्जालमा आएका तर बीबीसीले स्वतन्त्ररुपमा पुष्टि गर्न नसकेको तस्बिरहरूले भने चीनले त्यस्तो हतियार समुन्द्रमा परिक्षण गरेको देखिन्छ।

आवाजभन्दा तेज अस्त्र

सन् २०१८ को अगस्टमा चीनले ‘संसारको कुनै पनि मिसाइल प्रणालीलाई भेद गर्नसक्ने आवाजभन्दा तेज गतिको विमान परिक्षण गरेको साउथ चाइना मर्निङ पोस्टले लेखेको थियो।

यो विमान आकाशमा उडेर आफैले उत्पादन गरेको तरङ्गबाट तेज गतिमा अगाडि बढ्छ।

परिक्षणका क्रममा सिङकङ २ नाम दिइएको सो हवाईजहाज ३० किलोमिटरमाथि ७,३४४ किलोमिटर प्रतिघन्टाको गतिमा उडेको थियो।

तर यो चीनको पहिलो आवाजभन्दा तेज विमान भने होइन, उसले सन् २०१४ देखि नै यस्ता विमान परिक्षण गरेको थियो तर तरङ्गमा आधारित भने यो चीनको पहिलो विमान हो।

रुस र अमेरिकाले पनि यस्ता अस्त्र विकास गर्न खोजिरहेका छन्।

यस्तो अस्त्र तैयार हुन अझै कम्तीमा तीनदेखि पाँच वर्ष लाग्ने विज्ञहरू बताउँछन्।

सन् २०१७ मा चीनले आवाजभन्दा तेज गतिको मिसाइल डीएफ १७ घोषणा गरेको थियो जसको प्रक्षेपण क्षमता १,८०० देखि २,००० किलोमिटर रहेको छ।

चिनियाँ सबैभन्दा ठूलो बम 

गएको महिना चीनले आकाशबाट खसाल्न मिल्ने विशाल बम प्रदर्शन गर्‍यो। अमेरिकाले ‘मदर अफ अल बम’ जस्तै विशाल बम भएको बताइएको छ।

यसबारेमा धेरै जानकारी दिइएको छैन।

चीनले यसलाई सबैभन्दा शक्तिशाली गैरपारमाणविक अस्त्र भनेर दाबी गरेको छ। अमेरिकाकोभन्दा सानो देखिए पनि यो विशाल रहेको र बमवर्षक विमानले एक पटकमा एउटा मात्रै बोक्न सक्ने बताइएको छ।

रुससँग पनि ‘फादर अफ अल बम’ नाम दिइएको विशाल बम छ जुन अमेरिकाको भन्दा ठूलो छ।

– विविसी

You might also like
Loading...