स्पेनिस ला लिगा फुटबलः बार्सिलोनाको लागि मेस्सीले गरे निर्णायक गोल


काठमाडौं, ५ फाल्गुण । स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा लियोनल मेस्सीले गरेको एक गोल नै लिग लिडर बार्सिलोनाको लागि निर्णायक गोल भएको छ ।
रियल भलाडोलिडमाथि बार्सिलोनाले निक्कै कठिन जित हात पारेको हो । बार्सिलोनाको जितको लागि कप्तान लियोनल मेस्सीले गरेको एक गोल नै शनिबार रातिको खेलको जितका लागि निर्णायक बन्न पुग्यो ।
शनिबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रियल भलाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको ४३ औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा बार्सिलोनाले एकपछि अर्काे उत्कृष्ट गोल गर्ने अवसर खेर फालेको थियो । खेलको ८५औं मिनेटमा बार्सिलोनाले पुन पेनाल्टी पाएको भए पनि मेस्सीले दोस्रो पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन ।
स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई १–० गोलअन्तरले पराजित गर्यो ।
त्यस्तै लेभान्टेले सेल्टा भिगोलाई ४–१ ले र रियल सोसाइडेडले लेगानेसलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । त्यस्तै एट्लेटिको मड्रिड २४ खेलबाट ४७ अंक बटुल्दै दोस्रो स्थानमा छ ।







सम्बन्धित
Loading...