लोकमार्ग सफाईको नाममा हरियो रुख काटिएको भन्दै अख्तियारमा मुद्दा

144







रवि पाण्डेय
नवलपरासी ८ माघ । प्रदेश नम्बर पाँचको पूर्वी प्रदेशद्वार बर्दघाट नगरपालिकाको पूर्व पश्चिम लोकमार्ग सफाईको नाममा हरियो रुख काटिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी परेको छ ।
पूर्वी प्रदेशद्वार निर्माणको नाममा २ सय ५६ वटा हरियो रुख काटेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
२ सय १२ वटा हरियो साल, १२ वटा साल र ३२ सिसौ सहित अन्य कुकाठ डिभिजन वन कार्यालयको स्विकृति विना काटिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
उजुरीमा डिभिजन वन कार्यालयकै मिलोमतोमा रुख काटिएको र त्यसको आम्दानी समेत नबाँधिएको जनाइएको छ । सो उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले डिभिजन वन कार्यालय पश्चिम नवलपरासीलाई माघ २३ गते पत्राचार गरेको स्रोतले जनाएको छ ।
अख्तियार बुटवलका शाखा अधिकृत बाबुराम पौडेलद्वारा हस्ताक्षरित पत्रमा पारिजात सामुदायिक वन उपभोक्ता समुहको कार्यक्षेत्रभित्रको वन फाँडेर पार्क बनाउन लागिएको उल्लेख गर्दै ती सबै बिषयमा ७ दिनभित्र जवाफ पठाउन आदेश दिइएको हो ।
अख्तियार बुटवलको चलानी नम्बर १५९० को पत्रपछि डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले बर्दघाट सरावल सव वन डिभिजन कार्यालयमार्फत बर्दघाट नगर कार्यपालिका र पारिजात वनसंग जवाफ माग गरेको स्रोतको भनाई छ ।
डिभिजन वन कार्यालयले माघ २७ गते सब डिभिजनलाई पत्राचार गरेर जवाफ माग गरेपनि बर्दघाट नगर कार्यपालिकाले जवाफ दिएको छैन भने पारिजात सामुदायिक वनले जवाफ पठाइसकेको छ ।
अख्तियारले राजमार्गको अवरोध हटाउँदा काटिएका रुख र वनमा पार्क बनाउन लागेको बिषय चाँसो राख्दै ताकेता गरेपछि वन कार्यालयका कर्मचारी यही कामकै अनुसन्धानमा लागेका छन् । यस अघि पारिजात सामुदायिक वन समूहको कार्यक्षेत्रभित्र पार्क बनाउनका लागि डिपिआरको कार्य हुदै आएको थियो ।
बर्दघाट नगरपालिकाले राजमार्ग सफाई अभियान भन्दै पूर्व पश्चिम लोकमार्गको ८२ मिटरको संरचना हटाउने कार्य गरेको थियो । ८२ भित्रका अवरोध हटाउँदा नगरले सडकका दायाँबायाँ रुख समेत काटेपछि त्यसको आलोचना भएको थियो ।
यस बिषयलाई बर्दघाट नगर कार्यपालिकाले भने झुटा मुद्धाको करार दिएको छ । नगरकार्यपालिकाका प्रवक्ता रविन्द्रबिक्रम हमालले अख्तियारको जवाफ दिने क्रममै रहेको बताउदै दुःख दिने नियतबाट मुद्दा हालिएको बताए ।
‘जवाफ लेख्यो होला मुद्दा पर्याँ छ’ – हमालले भने – ‘अत्युक्ति र कपोलकल्पित अभियोग लगाएर मुद्दा हालिएको छ ।’ उनले सफाई अभियानका कहि कतै रुख नकाटिएको र बुट्यान र झाडी मात्र सफा गरेको दावी गरे । ‘साना तिना बुटयान काटिएका हुन्’ – हमालले भने ।
बर्दघाट नगरपालिकामा चिनियाँ बैकको भौतिक पूर्वाधार सम्बन्धि कार्यक्रम समेत संचालन हुन थालेको अवस्थामा यस्ता मुद्धाका बिषयले एआई आई बीको कार्यक्रम समेत प्रभावित हुन सक्ने बिज्ञहरुको तर्क छ ।

You might also like
Loading...