टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद


जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्या घटनाको फैसला गरेको छ । फैसलाअनुसार रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद तोकेको छ ।  साढे तीन वर्षअघि कैलालीको टीकापुरमा आठ जनाको हत्या भएको घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला गरेको हो ।




थारूहटको आन्दोलन चर्किँदा विसं २०७२ भदौमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर आठ प्रहरीलाई मारिदिएको थियो। सो घटनामा एक बालकको पनि ज्यान गएको थियो।

जन्मकैदको सजाय पाउनेमध्ये एक जना नाबालक रहेका ले उनको कैद सजाय भने आधा अर्थात् १० वर्षको मात्र हुने कैलाली जिल्ला अदालतको आदेशमा उल्लेख छ। अदालतले अन्य १२ जनालाई तीन-तीन वर्षको कैद सजाय तोकेको छ। अदालतले सोही मुद्दामा अन्य तीन जनालाई सफाइ दिएको छ।




उनीहरूमध्ये ११ जनाले हिरासतमा तीन वर्ष पूरा गरिसकेकाले आजै रिहा गरिने अदालतका रजिस्ट्रार इन्द्रबहादुर कठायतले बताए। घटनापछि फरार रहेका अन्य ३१ जनाको मुद्दा भने मुल्तबीमा रहनेछ। घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए।

सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो कारागारबाटै गएर उनले दुई महिनाअघि सांसद पदको शपथग्रहण गरेका थिए। यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि उनलाई संसद् प्रवेशको बाटो बन्द भएको थियो।




सम्बन्धित
Loading...