प्रदेश २ मा एसईईको अर्को प्रशन पत्र पनि बाहिरियो, सबै प्रश्नपत्र एकसाथ बाहिरिएको आशंका


प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो ।




विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकश्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गर्‍यो । लगत्तै प्रदेशका आठवटै जिल्लामा २२ गते हुने गरी परीक्षा स्थगित गरियो ।

शुक्रबार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र भने अघिल्लो रात नै बाहिरियो । प्रश्नपत्र शुक्रबार बिहानसम्ममा समाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।




प्रश्नपत्र लिक भएको विषयमा छानविन सुरु भएको छ । तर, प्रारम्भीक रुपमा प्रदेश २ मा सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गरिएको छ । यसले बाँकी परीक्षा अन्योलमा परेका छन् भने यसअघि सम्पन्न भएको परीक्षामा पनि प्रश्न उठेको छ ।

प्रदेश २ अन्तर्गतका जिल्लाहरु एसएलसी तथा एसईई परिक्षाको सवालमा विगतदेखि नै बदनाम छन् । ‘यति परीक्षार्थी निष्कासित, यति परीक्षार्थीको परीक्षा रद्द, यति निरीक्षक अमर्यादित क्रियाकलाप गर्दागर्दै पक्राउ परे, बोराको बोरा चिट बरामद’ जस्ता समाचारहरु एसईई परीक्षामा प्रदेश २ बाट आउने गर्थे ।

यसपटक यस्ता समाचार आउन त आए, तर न्यून रुपमा । आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । मंगलबार छुट्टी थियो भने बुधबार गणित विषयको परीक्षा सकियो ।

बिहीबार र शुक्रबार प्रश्नपत्र आउट भएपछि यसअघि भएको परीक्षाबारे पनि प्रश्न उठेको छ ।

यसरी आउँछ केन्द्रबाट प्रश्न

एसईई परीक्षाको प्रश्नपत्र पहिले देशभरि एउटै हुन्थ्यो । संघीयता कार्यान्वयनसँगै प्रदेशगत प्रश्नपत्र बनाउन थालियो । यद्यपि प्रश्नपत्र निर्माण संघबाटै हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले प्रदेशगत प्रश्नपत्र बनाएर प्रत्येक जिल्ला सदरमुकाममा पठाउँछन् । शिक्षा विकास तथा समन्वय इकाई समेतको समन्वय रहने गरी जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्र राखिन्छ ।

जिल्ला प्रहरी कार्यालयमा आएको प्रश्नपत्र शिक्षा विकास समन्वय इकाईका प्रतिनिध समेतको संलग्नतामा जिल्लाभरिका प्रहरी इकाईहरुमा पुर्‍याइन्छ । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले भने, ‘अन्य कुनै निकायलाई यसबारे जानकारी हुँदैन । प्रहरी र शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारीले प्रश्नपत्र परीक्षा केन्द्रसम्म पुर्‍याउने काम गर्छन् ।’

प्रहरी भन्छ : सिल खोलिएको छैन

विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । यो घटनालगत्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले प्रहरीबाट प्रश्नपत्र आउट नभएको प्रतिकृया दिए । उनले भने, ‘यो हुँनै सक्दैन । परीक्षा केन्द्र बाहेकका ठाउँमा प्रश्न पत्रको सिल खोलिएकै छैन ।’

प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले पनि उस्तै प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने, ‘प्रहरीबाट कुनै किसिमको त्रुटी भएको छैन ।’

सबै जिल्ला प्रहरी प्रमुखसँग यस विषयमा बुझेको र प्रहरीबाट कतै पनि त्रुटी नभएको देखिएको उनको भनाई छ । उनले प्रश्नपत्र कहाँबाट बाहिरियो भन्ने अनुसन्धान भइरहेको बताए । ‘हामी यसमा लागिरहेका छौं,’ उनले भनेका छन्, ‘आजै सीआईबीको टोली पनि आउँदैछ, यो चाँडै पत्ता लाग्छ ।’

सबै प्रश्नपत्र बाहिरिएको आशंका

विज्ञान विषयको प्रश्नपत्र एक दिनअगाडि बाहिरिएको र प्रश्नहरुको उत्तर तयार गरी वितरण गरिएको दृष्टान्त सप्तरीमा देखियो । लिक भएको प्रश्नपत्रको उत्तर सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई शेयर गरिएको पाइएको छ ।

बिभिन्न जिल्लाबाट परीक्षा हलमै विद्यार्थीले मोवाइलबाट चिट चोरिरहेको अवस्थामा पक्राउ पर्नुले यसको पुष्टि हुन्छ । परीक्षा शुरु भएकै दिनदेखि विद्यार्थीहरुले मोबाइलबाट चिट चोर्नुले शुरुमै प्रश्नपत्र आउट भएको अनुमान गर्न सकिन्छ ।

अधिकारीहरुले एकसाथ सबै विषयको प्रश्नपत्र आउट भइसकेको पनि आशंका गरेको छ । अन्यथा विज्ञान विषयको प्रश्न सार्वजनिक भएर परीक्षा नै रद्द भएपछि पनि सामाजिक विषयको प्रश्न बाहिरिन कसरी सम्भव भयो भन्ने प्रश्न गर्छन् ।

प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारमाथि प्रश्न उठाएका छन् । मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले दोषी जोसुकै भएपनि कारबाही गरिने बताएका छन् ।

प्रदेश सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले समितिका अन्य पदाधिकारीहरु आजै जनकपुर आइरहेको र आजै बैठक बसेर छानबिन गरिने जानकारी दिए ।

प्रदेशका प्रहरी प्रमुख पालले पनि केन्द्रीय अनुसन्धान व्यूरोको टोली आजै जनकपुर आइरहेको बताउँदै आजैबाट छानविन गरिने जानकारी दिए । अनलाइन खबरबाट




सम्बन्धित
Loading...