कविता कुलत

203




                                                                                                     -प्रचण्ड गौतम  

रक्सीको नशासँग
र चुरोटको धुवाँसँगै
बर्षा निस्सासिएको एउटा जिँउदो लास
कुलतको लतमा लागेर
हरेक पटक
निचोरी रहेको छ
एउटा सिङ्गो जिन्दगीलाई
र आफ्नो अस्तित्व आफैं गुमाईरहेछ ​

सधैं दिनलाई अँध्यारो देख्छ
चोकलाई गल्ली देख्छ
आफन्त चिन्दैन
बा आमालाई बुझ्दैन
समाजदेखि आँफै तर्सिन्छ
अँध्यारो कोठामा घन्टौं विलीन हुन्छ
कुलतको लतलाई जगत ठान्छ
र हरेक पटक
निचोरी रहेको छ
एउटा सिङ्गो रहरलाई
र आफ्नो अस्तित्व आफैं गुमाईरहेछ ​

छोरोलाई छोरो बनाउन शहर पठाएर
गाउँमा बालाई हिनताबोध भएको छ
भित्रभित्रै मुटु खाईरहेको छ
शहरमा छोरोलाई कुलतको लतले
भित्रभित्रै फोक्सो खाईरहेको छ
रक्सीको नशासँग
र चुरोटको धुवाँसँगै
बर्षा निस्सासिएको
एउटा जिउँदो लास भएको छ
शहरमा छोरो !

You might also like
Loading...