नारायणी नदी वस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण

114







चितवन । निरन्तरका वर्षाले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव वस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बिहीबार दिउँसोबाट नारायणी नदी वस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभयो ।

‘नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भन्नुभयो ।

त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नं. २८ मेघौली क्षेत्र, वडा नं. १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरेको भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला भएर बग्ने नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उहाँले जानकारी दिनुभयो । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको उहाँले जानकारी दिनुभयो । सरकारले असोज महिना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमति दिए पनि पर्यटक नआउँदा चिन्तित बनेको सौराहामा बाढी पसेपछि थप चिन्ता छाएको छ ।

काठ र कच्ची घरहरुमा डुबानले क्षति पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।

You might also like
Loading...