नवलपरासीमा नयाँ शक्तिको प्रशिक्षण 

0 79







परासी – नयाँ शक्ति पार्टीले नवलपरासीको परासीमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य गंगानारायण श्रेष्ठले समसामयिक एवं सांगठनिक विषयमा प्रकाश पार्दै नयाँ शक्तिले मात्रै विद्यमान राजनीतिक अन्यौलताको अन्त्य गरी देशलाई समृद्ध बनाउने बताउनुभयो । उहाँले नयाँ शक्तिले अंगिकार गरेको ‘५ स’ को भिजन र अबको ’५ वर्षे’ मिसन अन्तर्गत देशब्यापी रुपमा संगठन विस्तार गरी जनपरिचालनका काम गरिरहेको बताउनुभयो । उहाँले नयाँ शक्ति तेस्रो वैकल्पिक धारको रुपमा अघि बढेको बताउँदै अबको निर्वाचनसम्म एक सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुने बताउनुभयो ।
 
त्यस्तै समसामयिक विषयमा प्रशिक्षण दिँदै नयाँ शक्ति पार्टी प्रदेश ५ का संयोजक दानबहादुर चौधरीले अहिलेको नेकपा नेतृत्वको सरकारले जनचाहना अनुसार कुनै काम गर्न नसकेको बरु यसले जनमतको हुर्मत लिने काम गरेको बताउनुभयो । उहाँले सरकारको नालायकीपनकै कारण नेपाली नागरिकले दुःख पाउनुपर्ने अवस्थाको अन्त्यकै लागि नयाँ शक्ति विकल्पको रुपमा उदाएकोमा जोड दिनुभयो । 
 
प्रशिक्षण कार्यक्रममा विषयगत प्रशिक्षण दिंदै नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले नयाँ शक्तिले वैकल्पिक अर्थतन्त्रको रुपमा सामाजिक बजार अर्थतन्त्रलाई अंगिकार गर्ने बताउनुभयो । उहाँले देशको विकास र समृद्धिका लागि मुलुकको अर्थतन्त्रको संरचनागत परिवर्तन आवश्यक रहेको बताउँदै विकास, समृद्धि र प्रगतिको लक्ष्य हासिल गर्न आवश्यकता र संभाव्यता अनुसार अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको प्राथमिकिकरणमा जोड दिनुपर्ने बताउनुभयो । 
 
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नवलपरासीका जिल्ला इन्चार्ज चिनक कुर्मीले नयाँ शक्ति नै सबैको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो । विषयगत प्रशिक्षणकै क्रममा नयाँ शक्ति केन्द्रीय कार्यकारी सदस्य कमल खनालले वैकल्पिक राजनीतिक संगठनको संरचनाको बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै नयाँ शक्तिको विचार र दर्शनको बारेमा नारायण खनाल, समावेशिता र इन्द्रेणी राष्ट्रवादको अवधारणा विषयमा बोम दर्लामी मगर, नेतृत्व विकासको बारेमा पंकज राई, लैंगिक समावेशिता विषयमा सुनिता काफ्लेले प्रशिक्षण दिनुभयो । त्यस्तै केन्द्रीय कार्यकारी सदस्य मोती रिजालले अतिथी मन्तव्य एवं राजु नेपालीले अभिप्रेरणात्मक मन्तव्य राख्नुभयो । जिल्ला ईन्चार्ज चिनक कुर्मीको अध्यक्षता तथा संयोजक विरेन्द्र कुमार हरिजनको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाबाट १ सय ७० जना अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 
नयाँ शक्तिले प्रदेश ५ अन्तर्गतका सबै जिल्लाहरुमा पार्टी प्रशिक्षण कार्यक्रम जारी राखेको छ । जसमध्ये गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । अब बाँकी जिल्लाहरु कात्तिक दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्यतालिका रहेको प्रदेश नं. ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले बताउनुभयो । 
 
नयाँ शक्तिले समसामयिक राजनीति तथा संघीयताको कार्यान्वयन, विचार÷दर्शन र पार्टीको राजनीतिक कार्यदिशा, समृद्धि र सुशासनको मार्गचित्र, समावेशिता तथा इन्द्रेणी राष्ट्रवादको अवधारणा, नयाँ शक्तिको संगठनात्मक ढाँचा र शैली, उत्पादन तथा स्वरोजगार, व्यवस्थापन तथा प्रचार रणनीतिलगायतका विषयहरु समेटेर पार्टी प्रशिक्षण पाठ्यक्रम तयार गरेको छ । 

You might also like
Loading...