बुटवलमा सस्तो दशैं बजारः घ्यूदेखि नयाँ नोटसम्म

घिउ १०० रुपैयाँ, तेल ५० रुपैयाँ र चिनी २० रुपैयाँ सस्तो

0

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सस्तो दशैं बजार सुरु भएको छ ।




बुटवलको हाटबजार लाइनस्थित बालमन्दिर प्रांगणमा सुरु भएको दशैं बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तु, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ताचप्पल, माछा लगायतका ४० स्टल रहेका छन् ।

संघको आयोजनामा भएको यो १८ औं सस्तो दशैं बजार हो । पांच दिनसम्म चल्ने दशैं बजारमा दुग्ध विकास संस्थान,साल्ट टेडिंगका उत्पादन पनि राखिएको छ ।


दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रुपैयाँ, डीडीसी घिउ प्रति किलोग्राम ८ सय १० रुपैयांमा उपलब्ध गराइएको पौडेलले बताए ।

रुपन्देहीको बजारमा चिनीप्रति किलोग्राम ७० देखि ८० रुपैयांसम्ममा विक्रि हुने गरेको छ ।

चाडपर्वका बेला बढी खपत हुने र मनपरी मूल्य हुने चिनिको समस्यालाई मध्यनजर गरेर संघले बजारमूल्य भन्दा सस्तो दरमा गुणस्तरीय नेपाली चिनी उपभोक्तालाई उपलब्ध गराएको संघको भनाई छ ।

उपभोक्तालाई सहुलियत दिने उद्देश्यले दशैं बजारमा घ्यू प्रति किलोग्राम एक सय रुपैयां र खाने तेल बजार मूल्य भन्दा प्रति कार्टुन ५० देखि ७० रुपैयाँ सस्तोमा उपलब्ध गराइएको संयोजक पौडेलले बताए ।

अन्य सामानमा कम्तीमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

दशैं बजारको मुख्य आकर्षण नयाँ नोट सटही रहेको छ । दशै बजारमा आउने सर्वसाधारणले ग्लोबल आईएमई बैंकको स्टलबाट ५ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको छ ।

संघले दशैं बजारमा कम्तीमा एक करोड नयाँ नोट, ७० क्वीन्टल चिनी, एकहजार लिटर घिउ सर्वसाधारणलाई उपलब्ध गराउने छ ।

यसपटकको दशैं बजारमा कम्तीमा १० हजार व्यक्तिले किनमेल गर्ने र एक करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताए ।

संघको मेलामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर गुणस्तरीय र ब्राण्डेड सामान मात्र विक्रिका लागि राखिने संघले बताएको छ ।

रुपन्देहीका अन्य मेलामा कम्तीमा ५० रुपैयाँको प्रवेश टिकट काट्नुपर्ने भएपनि संघको दशैं बजारमा निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था छ ।

दशैं बजारको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।




सम्बन्धित
Loading...