पश्चिम नवलपरासीमा नेकपाको एकिकरण शुरू
२२ असोज, नवलपरासी
जिल्ला मातहतको एकता पुर्णताका लागि सुझाव दिन गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यदलले पश्चिम नवलपरासीमा पार्टी एकिकरण तथा संगठन गतिविधिको तयारी थालेको छ । नेकपाको प्रदेश समितिले जिल्लामा पुर्व एमाले र पुर्व माओवादीबाट २/२ जनाको दरले कार्यदल गठन गरी आवश्यक समन्वय गर्न सकुर्लर पठाएकोले अव जिल्लामा पार्टीको एकता तथा गतिविधि अगाडि बढ्न लागेको कार्यदलले जनाएको छ ।
कार्यदललाई जिल्ला र जिल्ला मातहत गाउँपालिका तथा नगरपालिकाहरुमा पार्टी गतिविधि सञ्चालन गर्ने, जिल्ला तहको भौतिक सम्पत्तिहरुको अभिलेख तयार गरी एकिकरण गर्न र जिल्ला मातहतका कमिटीहरुको एकतालाई पुर्णताका लागि सुझाव दिने गरी प्रदेश समितिले सर्कुलर पठाएको र अव सोही अनुसारको गतिविधि अघि बढाउन लागिएको कार्यदलका सदस्य थानप्रसाद गैरेले जानकारी दिनुभएको छ । सो कार्यका लािग कार्यदललाई २० दिनको समय दिईएको छ । कार्यदलमा पुर्व एमालेबाट तुलसी पासी र थानप्रसाद गैरे तथा पुर्व माओवादीबाट घनश्याम यादव र सिता बौडेल सदस्य रहनुभएको छ ।
कार्यदलले जिल्ला र जिल्ला मातहतमा पार्टीका गतिविधि सञ्चालनमा समन्वय गर्ने, केन्द्रीय निर्देशन अनुसार भेला, प्रशिक्षण, भेटघाट गरी पार्टीलाई क्रियाशिल बनाउनुका साथै सरकारको पक्षमा क्रियाशिल बनाउने, चाडपर्वको अवसरमा जिल्ला, नगर र गाउँपालिका तहमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गर्ने, स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक योजना, कार्यक्रम तथा प्रशिक्षण सञ्चालन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने नेकपाको जिल्ला कार्यदलले जनाएको छ ।