नवलपरासीको झ्यालबासमा दशैंको खसी–बोका बजार

0

रामकुमार श्रेष्ठ


कावासोती । दशैंलाई लक्षित गरी भारतबाट नेपालमा सस्तो खसीबोका नेपाल भित्रिए पनि कतिपयको रोजाई नेपाली खसी बोकामै देखिएको छ।
यसको ज्वलन्त उदाहरण बनेको छ हुप्सेकोट गाउंपालिका ४ झ्यालबास, बेलुवामा स्थानीय महिलाहरुले सञ्चालन गरेको, सहरकारीले सञ्चालन गरेको खसीबोका संकलन तथा विक्री केन्द्र। नेपालीहरुको ठूलो चाड दशैं आँगनमै आइपुगेको छ बजारमा किनमेलको चहलपहल बढेको छ। यस्तै किनमेलको चहल पहल झ्यालबासमा लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले चलाएको खसीबोका संकलन तथा विक्री केन्द्रमा पनि देखिएको छ।
यहाँ साविक देउराली गाविसका साथै हालको हुप्सेकोट गाउंपालिका भित्रका किसानहरुले उत्पादन गरेको खसीबोका संकलन गरी विक्रीका लागि राखिने गरिन्छ।
दशैंलाई लक्षित गरी अघिल्लो बर्ष ३ सय १० वटा खसी बोका विक्री गरेको यस सहकारीले अहिले दशैं शुरु नहुँदै ६ सय भन्दा बढी विक्री गरिसकेको सहकारीका व्यवस्थापक सुशिला परियारले बताइन् । यो बर्षको दशैंमा ९ सय खसीबोका विक्री गर्ने लक्ष्य राखेकोमा त्यो भन्दा बढी विक्री हुने देखिएको उनी बताउंछिन्। यहाँ किसानहरुले ल्याएको खसीबोका प्रति किलोमा ५ रुपैयां सहकारीलाई सेवावापतको शुल्क राखी विक्री गर्ने गरिन्छ जसले गर्दा किसानहरु ढगिने क्रम पनि घटेको छ।
गिरुवारीकी महिला किसान सर्मिला विश्वकर्मा भन्छिन् – पहिलो सहकारी नहुँदा व्यापारीहरुलाई बेच्नु पर्यो।
उनीहरुले भनेको दरमा विक्री गर्दा खासै नाफा हुन्थेन अहिले ठगिने समस्या हटेको छ। जति उत्पादन गर्न सकेपनि विक्री भएको छ। साविक देउराली गाविसका दुई हजार ४१ जना महिलाहरु आवद्ध भएर शुरु गरेको यस सहकारीले अहिले साविक देउराली गाविसको मात्र नभएर हुप्सेकोट र धौवादी गाविस सहित मिलेर बनेको हुप्सेकोट गाउंपालिका भरिका किसानहरुले उत्पादन गरेको खसीबोका संकलन र विक्री गर्ने गरेका छन् ।
यहां १२ महिना खसीबोका संकलन र विक्री गरिने भएपनि चाडपर्वलाई लक्षित गरी किसानहरुले बढी खसी बोका ल्याउने र चाडपर्वमै बढी विक्री हुने गरेको व्यवस्थापक सुशिला परियारले सुनाइन् ।
उनीहरुले खसीबोका संकलन र विक्री केन्द खोलेको ४ बर्ष भएको छ । व्यवस्थापक परियारका अनुसार पहिलो बर्ष ३ सय ७८ वटा खसी बोका विक्री गरिएकोमा पछिल्लो तीन बर्ष त्यो बढ्ने क्रममा रहेको छ। गत आर्थिक बर्षमा मात्रै यहांबाट एक हजार ७ सय ५५ वटा खसीबोका विक्री गरेको उनले बताइन् ।
यहांका अधिकांशले बाख्रा पालन गरेका छन् भने ९० प्रतिशतले व्यवसायिक रुपमा बाख्रा पालन गरेका छन् ।
यहां बाख्रापालन गर्ने कतिपय महिलाहरुले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेको उदाहरण पनि भेटिन्छ। (दाउन्ने साप्ताहिकबाट)



सम्बन्धित
Loading...