किन भत्कन्छ सडक … …


रामकुमार श्रेष्ठ । कावासोती




कावासोती ३ मा रहेको पुरानो कावासोतीको पेट्रोल पम्पमा झण्डै एक महिना अगाडि सडकमा सडक खाल्डाखुल्डी भएकै कारण एउटा सवारी दुर्घटना भयो त्यो पनि एक जना पैदल यात्रीको ज्यान जाने गरी भयो । यसअघि यस स्थानमा ससाना दुर्घटनाहरु भईराखेका थिए। ज्यानै जानेगरी दुर्घटना भएपछि मात्र सडक डिभिजन कार्यालयले बल्ल सडक टालटुल गरेका थिए ।
त्यस्तै दाउन्ने, दुम्किबास लगायतका स्थानमा पनि अवस्था उस्तै छ। यहाँ टालेटुले सडककै कारण यात्रुहरु पटक पटक जाममा पर्ने गर्दछ। दाउन्ने, दुम्किबासमा अहिले सडक अवस्था नाजुक भएपछि सडक डिभिजन कार्यालयले फेरि टालेटुले मर्मतका लागि टेण्डर लगाएर मर्मत शुरु गरेको छ। सडक डिभिजनले पटक पटक ठेक्का लगाउँछ तर सडक भने ३÷४ महिनामै विग्रन्छ फेरि पुरानै अवस्थामा पुग्छ ।


किन हुन्छ त यस्तो

सडक चाँडो भत्कनुमा सबैको आआफ्नै दावी छ। सडक डिभिजनले भारलोडको सवारी साधनलाई दोष लगाउँछ भने अन्यले कामको गुणस्तरतालाई नै प्रमुख ढंगले जोड्ने गर्दछ। जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले मुख्यकुरा कमसल खालकै सामग्री प्रयोगले यस्तो भएको आफ्नो अुनभवले पाएको बताउँछन्। उनी भन्छन् – टाढा जानु पर्दैन भारतमै हेरौं भारतले हाम्रोमा जसरी नै बेलाबेलामा मर्मत गरिराखेको हुन्छ ३/४ बर्ष केही भएको हुँदैन। हाम्रोमा भने हतारहतारमा बनायो बनाएको ३/४ महिनामा फेरि उस्तै अवस्था।
उनले त्यसो त सडकको क्षमता भन्दा बढी लोडका सवारी साधन चलाएका कारण पनि सडक भत्किने गरेको बताए। उनले भने त्यसो त भारतमा डेढ सय टनसम्मका लोड भएका सवारी साधन हिड्छन् त्यहाँ केही हुँदैन हाम्रो सडकको क्षमता पनि कम भएर हो। उनले सडकमा सवारी साधनको चाप बढेको तर सडकको क्षमता भने शुरुकै अवस्थामा रहेको बताए।
त्यस्तै नवलपरासीमा लामो समय कार्य अनुभव बटुलेका ट्राफिक हवल्दार पदम बडुको पनि त्यस्तै अनुभव छ। बडुले भने – ‘२०२८ सालमा त्यतिबेलाको क्षमता हेरेर निर्माण गरेको सडक अहिले स्तर वृद्धि भएको छैन सवारीको चाप मात्रै बढेको छ ।’ उनले भने – ससानो खाल्टाखुल्टै हुँदै मर्मत गरे सायद यो अवस्था आउने थिएन । सडक डिभिजन कार्यालय बुटवलका मेघराज मरासिनी भने सडकमा कमलस सामग्री प्रयोग भएकै कारण सडक विग्रिएको भन्ने स्वीकारन तयार छैनन् । उनले मर्मत गर्दा नेपाल सरकारले तोकेकै मापदण्ड अनुसार काम भएको तर अत्यधिक भार बोकेको सवारी साधनका कारण सडक विग्रिने गरेको बताए।
उनले सडक धेरै लामोसमयदेखि विग्रिने तर पूर्ण रुपमा मर्मत गर्न नपाउँदा बुटवल नारायण सडक थप जीर्ण बन्दै गएको बताए । उनले धेरै विग्रिसकेपछि मात्र सडक मर्मत गर्ने परिपार्टीका कारण पनि यो समस्या आएको बताए। पछिल्लो समय एसियाली विकास बैंक एडिबीले बुटवल–नारायणगढ सडक खण्ड फोरलानको बनाउन थालेको पनि मर्मतमा कम ध्यान र कम लगानी गरेको बताए ।
उनले भने हामी सडक एक महिनाको पेरिफेरिमा एडिबीलाई बुझाउँदैछौं। त्यसैले पनि हामीले सडकमा कम लगानी गरेका हौं।
अघिल्लो बर्ष बुटवल नारायणगढ सडक खण्ड फोरलेन बनाउनका लागि ठेक्का लागेको भए पनि अन्तिम समयमा आएर रद्द भएको थियो ।
डिभिजन इन्जिनियर मरासिनीले भने सडक बिग्रनुको मुल कारण ओभरलोड हो । २० टन क्षमताको सडकमा ६०÷७० टन भन्दा बढी भार बोकेका सवारी साधन चल्छन् । पटक पटक ओभर लोड भएको सवारी साधन गुड्दा प्रेसरले (पटकपटकको दबाबले) सडक विस्तारै खोल्सिदै विग्रन्छ । सडकहरु पनि धेरै जीर्ण छ । राम्रो तरिकाले मर्मत गर्न सकेको छैनौं । टालटुल मात्र गर्न सकिएको छ ।
उनले ओभरलोड रोक्नका लागि सरकारले नै पहल गर्नु पर्नेमा जोड दिए । उनले नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ओभरलोड बोक्ने सवारी साधनलाई नाकामै रोक्न आग्रह गरेको समेत बताए।
उनले सडक मर्मत गर्दा नेपालको आधिकारिक संस्था नेपाल सरकारको आधिकारिक संस्था विटिमन एण्ड ब्यारेलबाट ल्याउने गरेको, ल्याप टेष्ट गर्ने, कालोपत्र सम्झौता अनुसारको २ सेन्टिमिटर बाक्लो बनाउने लगायतका काम नियम अनुसार नै हुने गरेको दावी गरे। विज्ञहरुका अनुसार ओभरलोडको टिप्पर र त्यसमा पनि पानी चुहाउँदै हिड्ने टिप्परका कारण पनि सडक विग्रने गर्दछ ।

दुर्घटनाको भय

कावासोती ३ मा रहेको पेट्रोलपम्म अगाडि एक जना साइकल यात्रुलाई भारतीय ट्रकले ठक्कर दिंदा एकजनाले ज्यान नै गुमाउनु पर्यो। ट्राफिक प्रहरीका अनुसार यहाँ उक्त ट्रकले खाल्डो छल्न खोज्दा दुर्घटना भएको हो। केही समय अगाडि दुम्किबासदेखि पश्चिमको सडक विग्रिएको ठाउँमा पनि बाइक तीव्रगतिमा आएको र अगाडिको विग्रेको सडक नदेख्दा दुर्घटना भयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लक्ष्मणराज शाहीका अनुसार पछिल्लो १० महिनाको सवारी दुर्घटनाको तथ्यांक हेर्ने हो भने ११,१२ वटा दुर्घटना भत्किएका सडककै कारण भएको छ ।
खास गरेर दाउन्नेमा मानवीय क्षति नहुने तर सडकमै अवरोध पु¥याउने गरी भएको दुर्घटनाको यकिन तथ्यांक नै छैन। खाल्टाखुल्टीका कारण लामो ट्रकहरुको पट्टा भाँचिएर बीचबाटोमै सडक विग्रिएर घण्टौं सडक अवरुद्ध हुने गरेको छ। त्यतिमात्र होइन साँझ र विहान अत्यधिक सवारी चाप हुने समयमा २० देखि ३० मिनेटमा पार गर्न सकिने दाउन्ने खण्ड पार गर्न एक घण्टासम्म लाग्ने गर्दछ । सडक विग्रिएका कारण सवारी साधनको गतिमा कमी आउँदा सवारी साधन लाम लाग्ने र सवारी जाम हुने गर्दछ ।

होङ्सीले भत्कायो सडक

ठाउँठाउँमा भत्किएर विगोज भएको पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडकखण्ड सर्दीमा खुलेको नेपालकै सबैभन्दा ठूलो उद्योगको अत्यधिक भार बहन क्षमताको सवारीका कारण थप भत्किएको छ। महेन्द्रराजमार्गबाट सिमेन्ट उद्योग जाने बाटो दुम्किबासदेखि केही पूर्वमा सडक भत्किएको छ। जसले गर्दा त्यहाँको यात्रा निक्कै जोखिम र सम्भावित दुर्घटनाको जोखिम बढ्दो छ।
सडक डिभिजन कार्यालय बुटवलका डिभिजन इन्जिनियर मरासिनी भन्छन् – मोडमा होम्सीबाट आउने गाडी मोड्दा चक्काले २/३ पटक ओहोर दोहोर सर्घषगर्दा बढी चाप परेर यहाँ सडक विग्रिएको हो।

(नोटः समाचारस्रोतको रुपमा प्रयोग गरिएका शाही केही दिन अघि सरुवा भएका छन् ।)




सम्बन्धित
Loading...