फेरि ढगिदै उखु किसान
नारायण भण्डारी । बर्दघाट

किसानहरुले गत बर्षको पुरै भुक्तानी नपाउदै यस बर्ष उखु क्रसिङको सिजन सुरु भैसकेको छ। नवलपरासीमा रहेका चिनिमिलहरु तत्काल संचालनमा नआउने भएपछि किसानले क्रसरलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् ।
पश्चिम नवलपरासीमा रहेका बाग्मती सुगर मिल र ईन्दिरा सुगरमिल माघ महिना भन्दा अगाडि संचालनमा आउने सम्भावना न्यून रहेपछि किसानहरुले क्रसरलाई उखु दिन सुरु गरेका हुन ।
दशैंको आसपासबाट उखु क्रसिङको सिजन सुरु हुने गर्दछ । मिल संचालनमा ढिलाई भएपछि क्रसरले किसानबाट प्रतिक्विन्टल २ सय देखि ३ सयसम्ममा उखु उठाउने गर्दछन्।
किसानहरु पनि मिल संचालन हुने सम्भावना तत्काल नदेखिएपछि सस्तोमै बेच्न बाध्य भएका छन्। सुस्ता गाउपालिका र प्रतापपुर गाउपालिकामा ३० भन्दा बढी क्रसिङ उद्याग संचालनमा रहेका छन्। क्रसिङ उद्योगले किसानबाट सस्तोमा उखु उठाउने र भेली उत्पादन गर्दै आईरहेका छन् ।
सरकारले गत बर्ष ५ सय ३६ रुपैयां प्रतिक्विन्टल उखुको मुल्य निर्धारण गरेको थियो। यस बर्ष सरकारले उखुको नयां मूल्य निर्धारण गरिसकेको छैन ।
गतबर्षको भन्दा पनि कम रेटमा उखु बेच्नुपर्ने किसानको बाध्यता भएको सुस्ता गाउपालिका वडा नम्बर २ का उखु किसान पिटर गुप्ताले बताए । एकातर्फ लागत अनुसारको मूल्य नपाउनु अर्कोतर्फ मिल संचालकहरुले समयमै भुक्तानी नदिदा नवलपरासीमा उखु खेती गर्ने किसानहरु विस्तारै केरा खेतिमा आकर्षित हुनेगरेका छन् ।
गुप्ताले पनि पहिले पहिले पुरै जग्गामा उखु खेती गर्ने गरेकोमा पछिल्ला बर्षहरुमा उखु घटाएर केरा खेती गर्न सुरु गरेको बताए ।
गुप्ता मात्र होईन अहिले अधिकांस किसान विस्तारै उख्ु खेतीबाट विस्थापित हुने क्रम हरेक बर्ष बढ्दै गैरहेको छ ।
किसानहरुलाई उखु खाली गरी खेतमा मसुरो र गहुं छर्न हतार भैसकेको छ । मिल ढिलो संचालन हुने भएपछि बाध्य भएर क्रसर उद्योगलाई सस्तोमै भए पनि बेच्नुपरेको किसान राम अवदेस गुप्ताले बताए ।
क्रसर उद्योगले पनि किसानको बाध्यतालाई मौकामा चौका हान्ने गरी सस्तो मुल्यमा उखु उठाईरहेको उनले बताए ।
गतसाल सवैभन्दा बढि उखु क्रसिङ गरेको बागमति सुगर मिल कुडियाले किसानको पुरानो अधिकांस रकम भुक्तानी गरिसकेको र करिव २० देखि २५ लाखको हाराहारीमा भुक्तानी गर्न बांकी रहेको संचालक हुमकान्त लम्सालले बताए।
उखु उत्पादक कृषक संघकाजिल्ला अध्यक्ष उमेश चन्द्र यादवले भने बागमतीले करिव ३ करोड रुपैयौं किसानको भुक्तानी गर्न बांकी रहेको र ईन्दिराले ३ करोड ५० लाखको हाराहारीमा भुक्तानी गर्न बांकी रहेको बताउनु्भएको छ ।
मिल संचालन हुने सिजन मंसिर १५ गते भन्दा पछाडि रहेकोमा यस बर्ष बोईलर र मिलहाउसमा समस्या देखिएका कारण तिब्र रुपमा मर्मत कार्य चलिरहेको र पुषको दोस्रो हप्तासम्म मिल संचालनमा आउने लम्सालले बताए।
प्रतापपुर गाउपालिकामा रहेको ईन्दिरा सुगर मिल पनि संचालनमा आउनका लागि केही समय लाग्ने देखिएको छ । ईन्दिराले पुसको. पहिलो हप्ता देखि मिल संचालन गर्ने तयारी गरेको छ । नवलपरासीमा बाग्मती, ईन्दिरा र लुम्विनी गरी ३ वटा चिनी मिल रहेका छन् । नवलपरासीका उखु किसानहरु ढगिने क्रम बढ्दै गएपछि यहाँका किसानहरु विस्तारै उखु खेतीबाट अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन्।