क्रान्तिकारी पत्रकार महासंघले बुझायो मुख्य मन्त्रीलाई ज्ञापन, पत्र पत्रकारको पेशागत सुरक्षामा ध्यान दिन दिर्देशन





पोखरा । प्रदेश नम्बर चार (गण्डकी प्रदेश) का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरू·ले पत्रकारहरूमाथि विभिन्न पक्षबाट भैरहेका भौतिक आक्रमणका घटना नियन्त्रण गर्दै पेशागत सुरक्षा कायम गर्न मातहतका निकायहरूलाई निर्देशन गर्ने बताएका छन् ।
प्रदेश मुख्यमन्त्री सुब्बाले क्रान्तिकारी पत्रकार महासंघ प्रदेश समितिले मुख्यमन्त्री निवासमा शुक्रबार बुझाएको ज्ञापन पत्र बुझ्दै यस्तो बताएका हुन् ।
क्रान्तिकारी पत्रकार महासंघ प्रदेश समितिको नेतृत्वमा मुख्यमन्त्री सुब्बा निवास पुगेको पत्रकारहरूको टोलीले पत्रकारमाथि भैरहेका आक्रमण, पेशागत सुरक्षा र विभिन्न समस्याहरू समेटिएको १२ बुंदे ज्ञापनपत्र समेत बुझाएको हो ।


कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बन्दै गएकाले आफ्नो संगठनले पत्रकारिताका क्षेत्रबाट त्यस विषयमा सचेत पार्ने खालका कार्यक्रमहरू देशब्यापी रूपमा चलाउँदै आएको जनाउदै मुख्यमन्त्री सुब्बाको ध्यानाकर्षण गराएका थिए। ज्ञापन पत्रमा श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, सानालगानीका स्वरोजगारमूलक मिडियाको संरक्षणका साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कार्यान्वयनका लागि पहल गर्न आग्रह गरिएको थियो।
मुख्यमन्त्री सुब्बालाई संगठनको ज्ञापन पत्र बुझाउने क्रममा क्रान्तिकारी पत्रकार महासंघका प्रदेश संयोजक गोपाल जिसीले आफ्नो संगठन अघि सारेका मागहरू पढेर सुनाउँदै त्यसको कार्यान्वयन नगरेमा बाध्य भएर सघर्षमा उत्रिने चेतावनी समेत दिए ।
संयोजक जिसिले संगठनले उठाएका माग पुरा नगरे कडा संघर्षमा जाने चेतावनी दिदै भने – ‘हाम्रा मागहरू अविलम्ब कार्यान्वयन नगरी आलटाल गरेमा हाम्रो संगठन चरणबद्ध सघर्षको प्रकृयामा जान बाध्य हुने छ । त्यसमा सरकारको ध्यानाकर्षण गराउँदछौं ।’




ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुब्बाले सरकारले ल्याएको संहिता ऐनका विषयमा आएका सुझावहरूमाथि छलफल गरिने र प्रदेश स्तरमा समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयन तथा साना लगानीका मिडियाको संरक्षणाको लागि पहल गर्ने बताए ।
पत्रकारको सुरक्षा व्यवस्थामा तत्काल ध्यान दिने प्रतिवद्धता जनाउदै मुख्यमन्त्री सुब्बाले भने – ‘विभिन्न पक्षबाट हुनेगरेका पत्रकार माथि भौतिक आक्रमण रोक्न हाम्रो प्रयास रहन्छ । पत्रकारको हक अधिकारबारे हामी सकारात्मक छौं ।’
अर्को प्रसंगमा मुख्यमन्त्री सुब्बाले आफ्नो कार्यालयमा नेपालको भूमि गायव गरिएको नक्सा नभएको जनाउँदै सरकारले राष्ट्र र जनताको हितमा काम गर्ने बताए ।
उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, कार्यालय सदस्य लोकराज जैसी र नेकपा क्रान्तिकारी माओवादी कास्कीका सेक्रेटरी कर्णबहादुर पुनको सहभागिता रहेको थियो भने संगठनका प्रदेश नेताहरूको सहभागिता रहेको थियो ।
क्रान्तिकारी पत्रकार महासंघको पोखरामा सम्पन्न प्रदेश भेलाबाट निर्वाचित समितिको पहिलो बैठकले पत्रकारीता क्षेत्रको समस्याका विभिन्न पक्षहरूको विषयमा छलफल गर्दै मुख्यमन्त्री लगायत अन्य सम्बद्ध निकायहरूलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।




सम्बन्धित
Loading...