भारतमा अलपत्र परेको एउटा गैडा निकुञ्ज ल्याइयो; दुई गैडा अझै भारतमा

64







नवलपरासी, २ पुस । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५–२० वर्षको पोथी गैँडालाई गएराति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।
नवलपरासीको सुस्ता नजिकै भारतको जंगलमा रोकिएको गैडालाई आइतबारराति चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।
उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको े चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए ।
भारतले नेपाल आउन नदिएको उक्त गैडालाई सुस्ताबासीले रातको समयमा गुलेलीको साहाराले हान्दै नेपाल भित्र्याएका थिए ।
गैडा सुस्तामा आएपछि उद्दार गरी निकुञ्ज ल्याएको हो । शनिबार सुस्ताको उखुबारीमा ल्याइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेर्साएर भारत जान छेकेका थिए ।
सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल बताए ।
आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो । यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो ।
अझै दुई वटा गैडा भारतमा रहेको र उक्त गैडा रहेको क्षेत्र गैडाको लागि उपयुक्त वासस्थान नभएकोले निकुञ्ज ल्याउन पहल भईरहेको ढकालले बताए ।
भारतमा रोकिएको बाँकी दुई गैडा पनि भारतले नेपाल ल्याउनका लागि अनुमति दिएको छैन ।

You might also like
Loading...